काठमाडौं । केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिको आयोजनामा पहिलोपटक आज ‘केन्द्रबिन्दु ईभी बज-पोलिसी डिस्कोर्स २०८२’ हुँदैछ । ललितपुरस्थित द प्लाजामा हुने कार्यक्रमको उद्घाटन भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले गर्नेछन् ।
यस कार्यक्रममा नेपालको अटोमोबाइल उद्योगको अवस्था, चुनौती र सम्भावना, नेपाली बजारमा उपलब्ध प्रमुख ईभी ब्रान्ड, उपभोक्ताको रोजाइ, विद्युतीय सवारीका फाइदा तथा व्यवहारिक चुनौती, प्रयोगकर्ताको अनुभव, व्यवसायीको दृष्टिकोण र सरकारी नीतिबारे गहन छलफल हुनेछ ।
कार्यक्रममा ३ वटा प्यानल डिस्कसन हुनेछन् । पहिलो सत्रमा “अटो पोलिसी डिस्कोर्स – सवारी क्षेत्रको भविष्यबारे साझा बहस” शीर्षकमा हुनेछ । यसमा सवारी परीक्षण तथा अन्तरदेशीय यातायात व्यवस्थापन शाखाका निर्देशक इन्जिनियर श्रीकान्त यादव, सिप्रदी ग्रुपका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठ र गोल्छा अर्गानाइजेसनका निर्देशक आकाश गोल्छा प्यानलिष्टका रूपमा रहनेछन्।
सत्रको सञ्चालन एपी वान टेलिभिजनकी सह–सम्पादक समा थापाले गर्नेछिन् भने मुख्य वक्ता पद्म ज्योति ग्रुप अफ कम्पनीका अध्यक्ष सौरभ ज्योति रहनेछन्।
दोस्रो सत्र “ईभी एडप्टेसन इन नेपाल – अवसर र चुनौती” शीर्षकमा केन्द्रित हुनेछ । यसमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका निर्देशक शुभलक्ष्मी श्रेष्ठ, नेपाल बैंकर्स संघका उपाध्यक्ष सुरेन्द्रराज रेग्मी, साइमेक्स इंक प्रालिका प्रबन्ध निर्देशक यमुना श्रेष्ठ, नेपाल विद्युत प्राधिकरणका निर्देशक दीर्घायु कुमार श्रेष्ठ र यातायात व्यवस्थापन विभागका महानिर्देशक राजीव पोखरेल प्यानलिस्ट हुनेछन्।
यसकाे सञ्चालन नेपाल इन्टरमोडल यातायात विकास बोर्डका कार्यकारी निर्देशक आशिष गजुरेलले गर्नेछन् ।
तेस्रो सत्रमा “अटोमोबाइल र अर्थतन्त्र” शीर्षकमा बहस हुनेछ । यसमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा)का अध्यक्ष करण चौधरी, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे र नबिल बैंकका सीईओ मनोज ज्ञवाली प्यानलिस्ट रहनेछन्।
यस सत्रका मुख्य वक्ता नेपाल सरकारका सचिव घनश्याम उपाध्याय हुनेछन् भने सञ्चालन मिस नेपाल सुगारिका केसीले गर्नेछिन् ।
समापन कार्यक्रमको प्रमुख अतिथि बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ रहनेछन् ।
केन्द्रबिन्दु ईभी बज कार्यक्रमले नेपालमा विद्युतीय सवारीको प्रवद्र्धन, स्वदेशी ऊर्जा प्रयोग र वातावरणीय शुद्धता, ईभी उद्योगलाई अगाडि बढाउन आवश्यक भावी रणनीतिबारे साझा बहस र नीतिगत संवादलाई सशक्त बनाउन मद्दत गर्ने विश्वास गरिएको छ । कार्यक्रममा नेपालको अटो क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका विभिन्न ब्रान्ड तथा कम्पनी, विशिष्ट व्यक्तित्वहरुलाई विशेष सम्मान पनि प्रदान गरिनेछ ।





























प्रतिक्रिया