काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा)का वरिष्ठ उपाध्यक्ष तथा गोल्छा अर्गनाइजेसनका निर्देशक आकाश गोल्छाले सरकारले ल्याउन लागेको नयाँ गाडी आयात नीतिको मस्यौदामाथि छलफल भएकोमा सन्तोष व्यक्त गरेका छन्।
उनले यसपटक नियम बनाउनुभन्दा पहिले नै छलफल गर्न पाउनु राम्रो पक्ष भएको बताए।
केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिको आयोजनामा पहिलोपटक आइतबार ललितपुरस्थित द प्लाजामा भएको ‘केन्द्रबिन्दु ईभी बज-पोलिसी डिस्कोर्स २०८२’का अवसरमा भएकाे “अटो पोलिसी डिस्कोर्स – सवारी क्षेत्रको भविष्यबारे साझा बहस” शीर्षककाे प्यानल डिस्कसनमा उनकाे याे भनाइ आएकाे हाे ।
गोल्छाले भने, “यो ड्राफ्टमा धेरै मेहनत भएको छ। यो निकै विस्तृत छ र यसमा हामीले छलफल गर्ने अवसर पाएका छौं। यद्यपि, सरसर्ती हेर्दा यो नीति सिधै सगरमाथाको टुप्पोमा पुग्ने गरी बनाइएको जस्तो देखिन्छ। यहाँ आएका धेरै सुझाव पहिले नै वाणिज्य विभाग र कर कार्यालय लगायतमा छ । यो भन्दा टेक्निकल कुरामा यहाँ ध्यान दिए राम्रो ।”
उनले नीतिमा थप प्राविधिक पक्षहरूमा ध्यान दिनुपर्नेमा जोड दिए। उनका अनुसार, गाडीका पार्टपुर्जाहरू आयात गर्न विभिन्न निकायबाट स्वीकृति लिनुपर्ने झन्झटिलो प्रक्रिया अहिले पनि छ। एउटा गाडीमा हजारौं पार्टपुर्जाहरू हुन्छन्, र अलग-अलग व्यापारीका लागि अलग-अलग मोडलका लागि यो प्रक्रिया झनै जटिल छ। चीनमा सीसीसी (चाइना कम्पल्सरी सर्टिफिकेसन) जस्तै एउटा छुट्टै निकायको आवश्यकता पनि उनले औंल्याए।
भारतमा जीएसटी (वस्तु तथा सेवा कर) घटेपछि नेपालमा चोरी निकासी बढ्ने जोखिम रहेको कुरा पनि गोल्छाले उठाए । “यी सबै कुरालाई मिलाएर मात्र अगाडि बढ्नु राम्रो हुन्छ,” उनले भने। उनले नीतिको मस्यौदामा भएका धेरै सुझावहरू यसअघि नै वाणिज्य विभाग र कर कार्यालयलगायतका निकायमा बुझाइसकिएको पनि जानकारी दिए।
साथै निर्देशक गोल्छाले अहिलेको छलफलले नीतिलाई अझ बढी व्यावहारिक र प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे।





























प्रतिक्रिया