काठमाडाैं । साेमबार जेनजीहरुसँगै बानेश्वरको चोकमा एउटा सपनाले अन्तिम सास लियो। उदयपुर, बेलका नगरपालिका -४ का २९ वर्षीय सन्तोष विक, जसको काँधमा परिवारको भारी थियो, जेनजी आन्दोलनमा लागेको प्रहरीको गोलीले ढले।
घरमा श्रीमती अम्बिका विश्वकर्मा सन्तोषको बाटो हेरेर बसिरहेकी थिइन्। तर उनलाई के थाहा, त्यो बाटो अब कहिल्यै फर्किएर आउने छैन। भोलिपल्ट मात्रै उनले श्रीमानको मृत्युको खबर पाइन्। छातीमा बज्र खसेझैँ भयो। आँखाअगाडि अँध्यारो छायो।
एक छोरा र एक छोरीको अनुहार हेरेर उनी झन् भावविह्वल बनिन्। बाबु गुमाएका ती छोराछोरीकाे निर्दोष अनुहारमा भविष्यको डर स्पष्ट देखिन्थ्यो। परिवारको एक मात्र सहारा, आम्दानीको खम्बा ढलेपछि अम्बिकाकाे मनमा के बित्याे हाेला ?
सन्तोषले एउटा सपना देखेका थिए— आफ्ना छोराछोरीले राम्रो शिक्षा पाउन्, उनीहरूले दुःख भोग्न नपरोस्। तर उनको त्यो सपना अधुरै रह्यो। अब त्यो सपना पूरा गर्ने जिम्मेवारी अम्बिकाको काँधमा आएको छ।
सन्तोषको परिवारले सरकारसँग केही माग राखेका छन्। उनीहरूले सन्तोषलाई शहीद घोषणा गर्न, बालबालिकाको निःशुल्क शिक्षाको व्यवस्था गर्न र अम्बिकालाई सरकारी जागिर दिएर आर्थिक रूपमा सवल बनाउन आग्रह गरेका छन्।





























प्रतिक्रिया