वीरगन्ज
सरकारले उद्योगी व्यापारीलाई आतंकित पार्ने काम गरिरहेको आरोप निजी क्षेत्रले लगाएको छ । नेपाल उद्योग वाणिज्य महासंघले वीरगन्जमा मङगलवार आयोजना गरेको जिल्ला तथा नगरस्तरीय उद्योग वाणिज्य संघको राष्ट्रिय भेलामा बोल्दै उद्योगीहरुले यस्तो आरोप लगाएका हुन् ।
कार्यक्रममा बोल्ने निजी क्षेत्रका अगुवाहरुले सरकारको दृष्टिकोणमा सुधार नआएकाले निजी क्षेत्र आतंकित भएको जनाएका हुन् । मुलुक संघीय संरचनामा गइसकेपछि बनेको तीन तहको सरकारबाट कर, दर र दायरा दुवै बृद्धि गरिएको, बजार अनुगमनका नाममा उद्योगी व्यापारीलाई प्रताडित गरिएको, ब्याजदरमा बृद्धि र लगानीको सुरक्षाको ग्यारेन्टी नभएकाले निजी क्षेत्र सरकारबाटै आतंकित बनेको महासंघको ठहर छ ।
दुईतिहाइ बहुमत पाएको वर्तमान सरकारलाई अहिले सम्मकै स्थिर र मजबुत भनिए पनि यो सरकार बनेको आठ महिना बिति सक्दा स्थायित्वको अनुभूति गर्न नपाएको निजी क्षेत्रको गुनासो छ । राज्यले निजी क्षेत्रलाई धराशायी बनाउन आतंकित पार्ने काम रोकेन भने मुलुकमा आर्थिक आन्दोलन हुने र त्यसको नेतृत्व पनि आफूले नै गर्ने चेतावनी समेत महासंघले दिएको छ ।
‘निजी क्षेत्र आन्दोलन र बन्द हड्ताल गर्ने पक्षमा छैन । यो हाम्रो काम पनि होइन तर यदि सरकारले निजी क्षेत्रसँग सहकार्य र समन्वय गर्दैन भने हामी अर्कै आन्दोलन गर्न बाध्य हुन्छौं ।’, भेलामा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले भनिन्, ‘उद्योग व्यापारलाई धराशायी बनाउने काम मात्र गरिरह्यो भने अब मुलुकमा आर्थिक आन्दोलन हुन्छ र त्यसको नेतृत्व महासंघले नै गर्छ ।
अन्नपूर्णबाट





























प्रतिक्रिया