काठमाडौं
अधिकृतमा जागिर खाएको साँढे दुई वर्षमै सात करोड रूपैयाँ भ्रष्टाचार गरेको दाबी सहित रवीन चन्द्र ढकाल विरुद्ध मुद्दा परेको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार कटारी नगरपालिकाका लेखा अधिकृत ढकालविरुद्ध विशेष अदालतमा अभियोगपत्र दर्ता गरेको हो ।
अख्तियारको ६ महिना लामो छानबिनबाट सामाजिक सुरक्षा भत्ताबापत वृद्धवृद्धा, एकल महिला, असहाय, अशक्त, विपन्न, दलित र अपांगता भएका व्यक्तिलाई बाँड्न छुट्याइएको रकम पत्नी, सासु र काकीको खातामा सारेको फेला परेको छ ।
‘ढकालविरुद्ध उदयपुरको कटारी र इलामको माई नगरपालिकामा रहँदा भ्रष्टाचार गरेको अभियोग दाबी सहित दुई वटा मुद्दा दर्ता भएका छन् । एउटामा सोमबारै बयान सकिएको छ । अर्कोमा मंगलबार बयान र थुनछेक हुनेछ,’ विशेष अदालतका रजिष्ट्रार भीमकुमार श्रेष्ठले भने ।
अख्तियारले ढकाललाई वैशाख १२ मा ज्ञानेश्वरबाट पक्राउ गरेको थियो । सिन्धुलीका ढकाल २०७२ मंसिर १५ मा सेवा प्रवेश गरेका हुन् । इलामको माई नगरपालिकाबाट कटारीमा सरुवा भएको डेढ महिनामै ढकालले चार करोड रूपैयाँ निजी खातामा राखेको खुलेको छ ।
ढकाल १४ महिना बीचमा झण्डै चार करोड रूपैयाँ खातामा सार्न सफल भएको अनुसन्धानले देखाएको छ । अख्तियारले सोलुस्थित जनस्वास्थ्य कार्यालयबाट समेत ढकालको जिम्माका सबै फाइल खिचेर छानबिन सुरु गरेको थियो ।
कटारी नगरपालिकाका नाममा विनियोजन भएको एक करोड ९८ लाख ७५ हजार रूपैयाँ गत फागुन २२ गते निजी खातामा स्थानान्तरण भएको छ । त्यसपछि चैत २६ गते त्यति नै रकम ढकालले पुनः आफ्नो निजी खातामा पठाएका छन् । अनुसन्धानबाट नगरपालिकाको मूल खाताबाटै धमाधम निजी खातामा रकम सारेको भेटिएको छ । कार्यकारी अधिकृतको नक्कली हस्ताक्षरमा रकम स्थानान्तरण भएको छ । अख्तियारले आफन्तका नाममा किनिएको जग्गा र उनीहरूको बैंक रकम पनि रोक्का गरेको छ ।
अन्नपूर्णबाट





























प्रतिक्रिया