जाजरकोट
तीन सन्तान र श्रीमती गुमाएका घाइते लाल बहादुर लुहारले श्रीमती सितलीसँगको अन्तिम संवाद शायद जीन्दगीभर बिर्सने छैनन् । पहिरोले घर भित्रै पुरिएका लाल बहादुरले लगभग २५ मिनेट श्रीमतीसँगै कुरा गरेर बिताए ।
‘श्रीमतीसँग मैले मृत्युसँग लडेर अन्तिम कुराकानी गरेँ ।’ लालबहादुरले भने ।
‘तिमीहरु कता छौं ?’ पुरिएकै अवस्थामा श्रीमतीलाई सोधेँ ।
‘दुईटी छोरी म सँग छन् एउटी छोरी छैन ।’ श्रीमतीले भनिन् ।
‘एउटी छोरी म सँग छ ।’ लालबहादुरको कुरा सुने लगत्तै श्रीमतीले भनिन् ‘एकै पटक मर्न लेखेको रहेछ एक्ला एक्लै मर्दा बाँच्नेलाई पिडा हुन्थ्यो । ठिकै भयो ।
यत्तिकैमा बाहिर मान्छेहरु बोलेको सुनियो ।
‘अब त मान्छे आए अब हामी बाँच्छौं ।’ लालबहादुरले भने ।
‘छोरा छोरी मरिसके, अब हामी पनि मर्छौं ।’ श्रीमतीले भन्ने बित्तिकै लालबहादुरले भने ‘यो भित्ता फालेपछि हामी पनि बाँच्छौं ।’ भगवानसँग दुवैले बिन्ती भाउ गरे । तर उनीहरुको पुकारा भगवानले सुनेनन् ।
उनको श्रीमतीको बोली मधुरो भैसकेको थियो ‘खै हाम्रो कुरो भगवान र छिमेकीले सुनेनन् जस्तो छ । छोरीहरु मरिसके म पनि मरेँ ।’ त्यसपछि श्रीमती बोलिनन् । त्यहि नै उनको अन्तिम वाक्य थियो ।
मेरो घर भेरी नगरपालिका वडा नं ६ गंगटिया हो । हाम्रो २०६५ सालमा प्रेम विवाह भएका थियो । हाम्रा ३ छोरी थिए । हामी कामको सिलसिलामा खलंगा जाजरकोट बस्न थालेको ९ महिना भयो । पहिरोमा परेको घरमा कोठा लिएर बस्न थालेको ३ महिना भएको थियो । अघिल्लो दिन (शनिबार) मात्रै हामीले घर सल्लाह गर्दै भनेका थियौं । ‘पहिरो आउने सम्भावना धेरै छ हामी अन्तै कोठा खोजेर सर्नुपर्छ ।’
नजिकै अर्को घरमा कोठा समेत खोजिसकेका थियौं भोली (आइतबार) विहान हामीले कोठामा भएका सबै सरसामानहरु अर्को घरमा सार्ने योजना बनाएका थियौं । भोली (आइतबार) विहान सबेरै उठेर भएको जति सामान ओसार पसार गरेर छिटै जानुपर्छ भनेर शनिबारै सल्लाह गरेका थियौं ।
रात ढल्कदै थियो रात परेपछी हामी गरीवीको घरमा जे पो पाक्थ्यो त्यहि खाएर सुत्यौं । हामीलाई खाली भोलीको कोठा सार्नेमा चिन्ता मात्रै थियो । छोरीहरु सहित खाना खाएर धेरै बेरसम्म बेलुका सुखानी, दुखानी गर्दै बसेका थियौं । दैवको लिला एकैछिनमा माथीबाट ह्वात्तै पहिरो आएर नानीहरुलाई छोप्यो अनी तुरुन्तै श्रीमतीलाई र काखे नानी अनि मलाई पहिरोले पुर्यो । हामी सवै परिवारका टाउका एकै ठाउँमा जम्मा भएका थियौं । मलाई किन हो कुन्नी दैवले बचाए । मलाई जस्तो विपत्ति दुष्मनलाई पनि नपरोस् ।
राजधानीबाट































प्रतिक्रिया