काठमाडौं
विवेकशील साझा पार्टीले प्रदेश ३ का जिल्ला संयोजक चयन कार्यक्रममा घुसपैठ भएको बताएको छ । शनिबारको कार्यक्रममा भएको हुलदंगा प्रति दुःख व्यक्त गर्दै साझा पार्टीले यस्तो बताएको हो।
प्रवक्ता डा सूर्यराज आचार्यले विज्ञप्ति सार्वजनिक गर्दै हुलदंगा गर्ने केही व्यक्ति पार्टी सदस्य नै नरहेको उल्लेख गरेका छन् । ‘शनिबार बानेश्वरमा प्रदेश ३ का ६ जिल्ला संयोजकको घोषणा कार्यक्रममा केही व्यक्तिबाट भएको हुलदङ्गा प्रति हामी अत्यन्तै दुखी छौं’, प्रवक्ता आचार्यले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘हुलदङ्गामा संलग्न कतिपय पार्टीका सदस्य नै नरहेको र घुसपैठ समेत भएको हामीले प्रारम्भिक सूचना पाएका छौं ।’
साझा पार्टीले हुलदंगामा संलग्नको बारे सूक्ष्म छानबिन गरी कारबाहीको प्रक्रिया अघि बढाउन न्याय तथा सुशासन आयोगलाई केन्द्रीय समितिले सिफारिस गरेको छ । ‘हुलदङ्गा र त्यसमा संलग्नका बारे सूक्ष्म छानबिन गरी कारबाहीको प्रक्रिया अघि बढाउन शनिबार नै बसेको पार्टी केन्द्रीय समितिको आकस्मिक बैठकले न्याय तथा सुशासन आयोगलाई सिफारिस गरिसकेको छ । यस विषयमा हामी तपाईँको धैर्यको अपेक्षा गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ ।
घटनालाई दुःखद भएको बताउँदै आएको साझा पार्टीले प्रदेश र जिल्ला संयोजक चयनका विषयमा पार्टीको आधिकारिक धारणा समेत सार्वजनिक गरेको छ ।
अन्नपूर्णबाट































प्रतिक्रिया