काठमाडौं
नेपाली कांग्रेसले जिल्ला कार्यसमिति स्याङ्जाका सभापति एवं पूर्वसांसद कमलप्रसाद पंगेनीको शोकमा आज सोमबार केन्द्रिय कार्यालय र देशभरका जिल्ला कार्यालयमा आधा झण्डा झुकाउने भएको छ ।
स्व पंगेनी २०६२ मा तत्कालीन नेपाली कांग्रेस प्रजातान्त्रिकको तर्फबाट स्याङ्जा जिल्लाको सभापति थिए भने २०६४ मा पार्टी एकीकरण पश्चात उनी नेपाली कांग्रेस जिल्ला कार्यसमिति स्याङ्जाको सहसभापति थिए । उनी पार्टीको १२ औँ महाधिवेशन २०६७ र १३ औँ महाधिवेशन २०७२ देखि हालसम्म निरन्तर स्याङ्जा जिल्लाको सभापति थिए । काग्रेस सभापति शेरवहादुर देउवाले नेपाली कांग्रेस स्याङ्जाका नेता एवं जिल्ला सभापति पंगेनीको असामयिक निधनबाट नेपाली कांग्रेस पार्टी तथा नेपालको लोकतान्त्रिक आन्दोलनको अभियानमा नै अपूरणीय क्षति पुग्न गएको प्रतिक्रिया दिएका छन् ।
स्वर्गीय पंगेनी २०६४ को संविधानसभा निर्वाचनमा स्याङ्जा जिल्ला निर्वाचन क्षेत्र नं १ बाट संविधानसभा सदस्यको उम्मेदवार, २०७० को संविधानसभा निर्वाचनमा स्याङजा क्षेत्र नं. २ बाट संविधानसभा सदस्यमा निर्वाचित र २०७४ मा स्याङ्जाको संघीय क्षेत्र नं १ को प्रदेश सभा क्षेत्र नं १ बाट नेपाली कांग्रेसको उम्मेदवार थिए ।
पंगेनीको हिजो आइतवार विहान हृदयघातबाट निधन भएको थियो । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए अनुसार उनको निधनमा शोक मनाउन सम्बन्धित जिल्ला स्याङ्जामा ३ दिन सम्म पार्टीको आधा झण्डा झुकाउने निर्णय पनि भएको छ ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया