नेपालगन्ज
करिब ६ वर्ष अघि सिक्टा सिँचाइ आयोजनाको पश्चिम मूल नहर निर्माण गर्ने क्रममा ढकेरी, बालापुरका स्थानीय बासिन्दा र आयोजनाका परामर्शदाता तथा प्राविधिकबीच कुरा बाझ्यो । स्थानीय बासिन्दाले सिक्टाको मूल नहरलाई परुवाखोलाबाट घुमाएर बालापुर र ढकेरी गाउँको उत्तरतिरबाट लैजानु पर्ने सर्त राखे ।
घुल्ने माटो भएका कारण भविष्यमा नहरमा समस्या निम्त्याउन सक्ने र यही माटोका कारण गाउँ नै जोखिममा पर्न सक्ने आशंका स्थानीय बासिन्दाको थियो । नहर गाउँ भन्दा उत्तरतिरबाटै खन्नु पर्ने माग गर्दै स्थानीय बासिन्दाले केही दिन सम्म आन्दोलन चर्काए । उनीहरूका मागलाई आयोजनाका परामर्शदाता र इन्जिनियरले चासो दिएनन् । अन्ततः मूल नहर सीधै घुलनशील माटो रहेको क्षेत्रमा निर्माण गरियो । अहिले स्थानीय बासिन्दाका आँखै अगाडि नहर भत्किन थालेको छ ।
ढकेरीका बासिन्दा एवम् पूर्वसांसद अशोक रोकाय विगतमा आयोजना कार्यालयले नहरको ‘डिजाइन र रेखांकन’ मा गम्भीर गल्ती गरेको बताउँछन् । प्राविधिकको एकोहोरो निर्णयको परिणामस्वरूप अचेल मूल नहर भत्किने समस्या बल्झिएको उनले बताए । ‘निर्माणक्रममा हामीले नहरलाई गाउँ भन्दा उत्तरतिरबाट लैजानु पर्ने माग गरेका थियौं । यस विषयमा गाउँलेले आन्दोलन चर्काएका थिए ’, रोकायले भने, ‘आयोजनाका प्राविधिकले आफ्नो हठ छाडेनन्, घुलनशील माटोलाई कतै कटान र कतै पटान गर्ने काम भयो । त्यसैले अहिले नहरमा पटकपटक समस्या बल्झिरहेको छ ।’
बालापुर र ढकेरी गाउँको उत्तरतिरबाट नहर खनेको भए त्यस क्षेत्रमा घुलनशील माटो नपर्ने र भत्किने समस्या नदोहोरिने उनी बताउँछन् । ‘गाउँ भन्दा उत्तरतिरबाट नहर घुमाएर लगेको भए त्यहाँ घुलनशील माटो थिएन । करिब दुई किलोमिटर जति नहर बढी खन्नुपथ्र्यो’, रोकायले भने । आयोजनाको गलत डिजाइनकै कारण विभिन्न चुनौती देखापरेको उनले बताए ।
परीक्षणका क्रममा पहिलोपटक २०७५ असार १४ मा आयोजनाको ढकेरीस्थित झिझरी खोलाछेउमा पश्चिम (दायाँ) मूल नहर भकिएको थियो । अघिल्लो साता साउन ७ गते पनि ढकेरीस्थित चंगाई नाला नजिक मूल नहरको २२.८९० किलोमिटर क्षेत्रमा भत्कियो । दुईदुई पटक नहरको संरचना भत्किएर ठूलो क्षति हुँदा सिक्टाको गुणस्तर माथि प्रश्न उठिरहेको छ । मूल नहर भत्किएको ११ दिनपछि शुक्रबार आयोजना कार्यालयले विज्ञप्ति मार्फत सिक्टा माथि उत्पन्न भएका समस्या र चुनौतीलाई आधिकारीक रूपमा बाहिर ल्याएको छ ।
आयोजनाको पश्चिम मूल अन्तर्गत २० किमि देखि ३५ किमिसम्मको नहर अत्यधिक कटान र पटान रहेको, मूल नहरको उक्त खण्डमा विषम प्रकृतिको घुलनशील माटो प्रयोग भएको, पूर्वपश्चिममा फैलिएको मूल नहर चुरे र सो को ‘फोथिल’ क्षेत्रबाट भएर गएको तथा नहरको रेखांकनमा अत्यधिक संख्यामा उत्तरदक्षिण बग्ने खोलानाला नै आयोजनाका लागि चुनौतीको मुख्य कारक बनेको कार्यालयले प्रस्ट पारेको छ ।
नागरिकबाट





























प्रतिक्रिया