जेनजी आन्दोलनपछि अझै सार्वजनिक हुन सकेनन् नेताहरु

जेनजी आन्दोलनपछि अझै सार्वजनिक हुन सकेनन् नेताहरु

केन्द्रबिन्दु
45
Shares

काठमाडौं । जेन–जी पुस्ताको भ्रष्टाचारविरोधी आन्दोलनपछि सत्ताबाट फालिएका नेताहरु अझै सार्वजनिक रुपमा देखिएका छैनन् ।

भदौ २३ गतेदेखि प्रदर्शनमा उत्रिएका जेनजीमाथि प्रहरीले अत्यधिक बल प्रयोग गरेका कारण पहिलो दिनमै १९ जनाको मृत्यु भएपछि प्रदर्शन देशभर उग्र भएको थियो । पहिलो दिन नै हिंसात्मक मोडमा परिणत भएको प्रदर्शनकाे दोस्रो दिनमा आन्दोलनकारी सरकारविरुद्ध खनिए, सरकारी सम्पत्ति र नेताहरूको घरमा तोडफोड गरेपछि केही नेताहरु सुरक्षा निकायको शरणमा रहे भने केही सम्र्पकविहीन भएका थिए ।

शीर्ष नेताहरु र मन्त्रीहरुलाई नेपाली सेनाले सुरक्षित स्थानमा लगेको भनिए पनि कहाँ राखिएको जानकारी गराएको थिएन । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली एक सातादेखि सेनाकै सुरक्षामा रहेको एमाले नेतहरु बताउँछन् भने अन्य नेताहरू सेनाको ब्यारेकबाट फर्किए ।

पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल ब्यारेकबाट फर्किएर मंगलबारदेखि पार्टीका गतिविधिमा संलग्न भएका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड मंगलबार पार्टी कार्यालय पुगेर सरसफाइमा सहभागी भए भने एकीकृत समाजवादीका अध्यक्ष नेपाल आगजनी भएको आफ्नो कोटेश्वरस्थित निवास पुगेर अवलोकन गरेका थिए । स्थिती साम्य बन्न थालेपछि एमालेकाका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित नेताहरु पनि बाहिर निस्किन थालेका छन् ।

तर अध्यक्ष ओलीसहितका केही नेता अझै सेनाकै सुरक्षा घेराभित्र बसेका छन् । उनको क्याविनेटका केही मन्त्रीहरु पनि अहिलेसम्म सार्वजनिक भएका छैनन् ।

सार्वजनिक नहुनेहरुमा ओली सरकारका अर्थमन्त्रीसमेत रहेका एमाले उपाध्यक्ष बिष्णु पौडेल, गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक, एमाले नेता एवं तत्कालीन सूचना तथा सन्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ, र प्रधानमन्त्रीका मुख्य सल्लाहाकार समेत रहेका एमाले उपमहासचिव बिष्णु रिमाल हालसम्म देखिएका छैनन् ।

नयाँ सरकार बनेपछि कहीं कतै नदेखिएका सभामुख देवराज घिमिरे नयाँ बानेश्वरस्थित जेनजी आन्दोलनमा ध्वस्त भएको संसद भवन निरीक्षण गर्ने क्रममा सार्वजनिक भएका थिए ।

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा दम्पत्तिलाई प्रदर्शनकारीले घरभित्र कुटपिट गर्दै बाहिर निकालेका थिए । प्रदर्शनकारीको कुटपिटबाट देउवा दम्पत्ति घाइते भएका छन् । सुरक्षाको कारण देखाउदै उनीहरु कहाँ छन् खुलाइएको छैन ।

पूर्वप्रधानमन्त्री झलनाथ खनाल आन्दोलनकारीको आक्रमणबाट बालबाल जोगिएका थिए । उनको घरमा प्रदर्शनकारीले आगो लगाउदा उनकी श्रीमती घाइते अवस्थामा अहिले पनी कीर्तिपुर वर्न अस्पतालमा उपचारत छिन् भने झलनाथ खनाल सार्वजनिक भैसकेका छन् ।

Logo