काठमाडौँ। मिस नेपाल शृङ्खला खतिवडाले ‘मन्त्री बाबुको करप्सन वा डोनेसनकै भरमा हार्वर्ड विश्वविद्यालयमा पढ्न गइन्’ भन्ने हल्लाकाे सशक्त खण्डन गर्दै आफू ‘सेल्फ–मेड पर्सन’ भएकाे दाबी गरेकी छन् ।
सामाजिक सञ्जालमा ‘नेपो बेबीज’ ट्रेन्डमा आफ्नो नाम जोडिएपछि धेरै दिनको मौनतापछि उनले भिडियोमार्फत प्रमाणसहित आफ्नो धारणा सार्वजनिक गरेकी हुन्। उनले भनेकी छन्, ‘म हार्वर्ड प्रवेश गर्दा मेरा बाबु मन्त्री नै हुनुहुन्नथ्यो। बाबु मन्त्री हुनु मेरो हार्वर्ड पुगिसकेपछि मात्र हो। त्यसैले “मन्त्री बाबु, करप्सन वा डोनेसनकै भरमा पढ्न गइन्” भन्ने हल्ला आधारहीन हो।’
उनले आफ्नो हार्वर्डमा मास्टर्स इन अर्बन प्लानिङ अध्ययनको सम्पूर्ण खर्च करदाताको पैसा वा भ्रष्ट कमाईले नभई आफ्नै श्रम र कमाईबाट बेहोरेको दाबी गरेकी छन्।
‘मिस नेपाल भएपछि विभिन्न ब्रान्ड एम्बासडर, विज्ञापन, इभेन्ट ओपनिङ्ग र सार्वजनिक कार्यक्रममा सहभागिताबाट कर कटाएरै ३ करोड १२ लाख रुपैयाँ कमाएको प्रमाण छ। मैले ती सबै कन्ट्र्याक्ट स्क्यान सहित सार्वजनिक गरेकी छु। त्यसकै आधारमा मैले डेढ करोडभन्दा कम खर्च लाग्ने हार्वर्ड अध्ययन आफैं फन्ड गरेको हुँ।’ उनले भनेकी छन्, ‘हार्वर्डमा ट्युइशन १ लाख ६ हजार डलर थियो, जसमा ३० हजार डलर स्कलरसिप पाएँ। बाँकी ७६ हजार डलर (करिब ९६–९७ लाख रुपैयाँ) मैले आफ्नै खाताबाट तिरेँ। लिभिङ एक्स्पेन्स पनि सामान्य स्तरको थियो। मेरो सम्पूर्ण खर्च करिब डेढ करोड मात्र भयो, जुन मेरो ब्रान्ड इनकमको तुलनामा धेरै कम हो।’
भदाै २३ र २४ गते भएकाे जेनजी आन्दोलनका क्रममा खतिवडा आन्दोलनकारीको निशानामा परेकी थिइन् । उनको आमाबाबुको घरमा तोडफोड भएको थियो भने उनका पति सम्भव सिरोहिया प्रबन्ध निर्देशक रहेको कान्तिपुर पब्लिकेसनमा पनि आजगनी र तोडफोड भएको थियो । त्यसपछि उनकाे याे प्रष्टीकरण आएकाे हाे ।
खतिवडाले जेन–जी पुस्ताको एन्टि–करप्सन आन्दोलनको औचित्यमाथि आफूले प्रश्न नउठाएको पनि बताएकी छन्। ‘हाम्रो करदाताको पैसा खोई?’ भन्ने प्रश्न उठाउनु जनताको वैध अधिकार भएको उनको भनाई छ। उनले आफू नेताकी छोरीको रूपमा चिनेको पात्र भएकाले आफ्नो तस्बिर प्रयोग गर्दा आन्दोलनले अझ बढी मोमेन्टम पाएको र लाइक-कमेन्ट बढेको स्वीकार गरेकी छन्। त्यसैले, यदि यस आन्दोलनलाई शक्तिशाली बनाउन आफ्नो तस्वीर प्रयोग हुनु नै थियो र आफू ‘कोल्याटरल ड्यामेज’ बन्नु पर्यो भने पनि त्यसलाई ‘लेट इट बी’ भनेर स्वीकार गरेको जनाएकी छन्।
आफ्नो व्यक्तिगत जीवन र सामाजिक चरित्रभन्दा देशको प्रगति धेरै ठूलो कुरा रहेको बताउँदै, उनले यति लामो स्पष्टीकरण दिनुको मुख्य कारण भविष्यलाई देखाएकी छन्। ‘मेरा सन्ततिले भोलि तिम्री आमा करप्ट थिइन् भन्ने सुन्न नपरोस्,’ उनले भनिन्। किनकि एकचोटि झुटो कुरा नचिरेमा त्यो पुस्तौँसम्म सत्यजस्तै फैलिँदो रहेछ भन्ने उनको भनाई छ।





























प्रतिक्रिया