पर्वतमा अल्लो उद्योग: प्राकृतिक स्रोतबाट स्थानीय अर्थतन्त्रको आधार

पर्वतमा अल्लो उद्योग: प्राकृतिक स्रोतबाट स्थानीय अर्थतन्त्रको आधार

केन्द्रबिन्दु
57
Shares

-निर्मल पौडेल

पर्वत । गण्डकी प्रदेशको पर्वत जिल्ला, जुन समुद्री सतहबाट ५२० मिटरदेखि ३,३०९ मिटरसम्मको उचाइमा फैलिएको छ, आफ्नो भौगोलिक विविधताले प्राकृतिक सम्पदाहरूको खानी मानिन्छ। यहाँको उष्णदेखि शीतोष्ण हावापानी र पहाडी जंगलहरूले अल्लो (Himalayan Nettle) जस्ता रेसायुक्त बोटबिरुवालाई प्राकृतिक रूपमा उत्पादन गर्ने वातावरण बनाएको छ। पर्वतमा अल्लो उद्योगले स्थानीय समुदाय, विशेषगरी महिलाहरूलाई रोजगारी र आयआर्जनको अवसर प्रदान गरिरहेको छ।

पर्वतको भौगोलिक बनावटले अल्लो उद्योगको विकासमा महत्वपूर्ण भूमिका खेलेको छ । जिल्लाको हम्पाल, पञ्चासे, र डहरे जस्ता उच्च पहाडी क्षेत्रमा अल्लो स्वतः उम्रन्छ। यहाँको माटो र हावापानीले अल्लोको रेसा उत्पादनका लागि उपयुक्त वातावरण बनाएको छ। स्थानीय जंगलहरूमा पाइने यो बोट परम्परागत रूपमा डोरी, कपडा, र अन्य सामग्री बनाउन प्रयोग हुँदै आएको छ । पछिल्लो समयमा अल्लोबाट बनेका कोट पाइन्ट,टाेपी,झोलहरु मेला महोत्सवहरुमा बिक्री वितरण गर्न राखिन्छन् । यहाँ उत्पादन भएका अल्लोका सामाग्रीहरु कुस्मा,बाग्लुङ, बेनी,पोखरा, काठमाडाैंलगायतका शहरमा बिक्री हुनुका साथै भारत चीन अमेरिका ,अस्ट्रेलिया लगायतका ठाउँहरुमा समेत निर्यात हुने पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर बि पौडेल बताउँछन् ।

पर्वतमा अल्लो उद्योग मुख्यतः लघु उद्यम विकास कार्यक्रम र घरेलु तथा साना उद्योग कार्यालयको सहयोगमा घरेलु उद्योगहरु सञ्चालित छन । जिल्लाको मोदी गाउँपालिका र जलजला गाउपालिकाका ग्रामीण क्षेत्रमा साना समूहहरूले अल्लोको रेसा प्रशोधन गरेर कपडा, झोला, टोपी, र सजावटी सामग्रीहरू बनाइरहेका छन्। २०५६ सालमा तालिम लिएर २०५७ सालदेखि व्यवसायीक रुपमा लागिपरेकी जलजला ६ शालिजाकी जसमाया पुनले २०६२ साल देखि सदरमुकाम कुस्मामा हम्पाल अल्लो उद्योग सन्चालन गरेर आम्दानी गरिरहेकी छन्। “मलाई घरखर्च चलाउन र छोराछोरीलाई पढाउन पुगेको छ।” पुनले भनिन्- “यत्तिकै बस्नुभन्दा केही न केही गर्नुपर्छ भनेर उद्दोग नै दर्ता गरेर उत्पादन गरि बिक्री वितरण गरेकी छु। सुरु सुरुमा हुँदैनकी जस्तो लाग्थ्यो,अहिले राम्रै कमाइ भएको छ।”

अल्लोलाई वनमा गएर संकलन गर्ने र पछाडी पकाएर धागो बनाइ तान लगाएर बुनेको कपडा प्रतिमिटर ५ सय ५० देखि ६ सय रुपैयाँ सम्ममा बिक्री गर्ने गरेको पुन बताउँछिन‍्। उनी मात्र हाेइन, जलजला र मोदीमा स्थानियहरु समूह नै बनाएर अल्लोको कपडा उत्पादनमा लागिपरेका छन्।

यस्तै, मोदी लेस्पारकी लक्ष्मी बिक रामदामलले पातिचौरमा कोशेली घरनै सन्चालनमा ल्याएर अल्लोको कपडा, कोट पाइन्ट, जुत्ता, झोला,पछ्यौरा,गलबन्दी लगायतका सामाग्रीहरु बिक्रि गरेर मनग्य आम्दानी गर्न सफल भएकी छन् । कोशेली घरबाट विशेषगरी पर्वत,बाग्लुङ,म्याग्दी र मुस्ताङ घुम्न आउने पर्यटक हरुले धेरै खरिद गर्ने गरेको बिकको भनाइ छ।

अल्लो जलजला र मोदीको उपल्लो हम्पाल क्षेत्र हलहले,क्याङ,लेस्पार भुरुङ्ग ,खुइजुरी लगायतका बनमा पाइन्छ। अल्लो बाट बनेका सामाग्रीहरु देख्दामा आकर्षक बलिया र टिकाउयोग्य हुन्छन्। यहाँ पाइने अल्लो लाई व्यवस्थित गर्ने गरि काम गर्न लागिपरेको जलजला गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्य बताउँछन्।

नेपाल सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र गैरसरकारी संस्थाहरूले यस्ता उद्यमीहरूलाई तालिम र प्राविधिक सहयोग प्रदान गरेको खण्डमा यहाँका लघु उद्दमीहरु लाई राहत पुग्ने देखिन्छ । उदाहरणका लागि, गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले लघु उद्यम प्रवर्द्धनमा लगानी गरेको छ । “हामीले अल्लोको कपडा बनाउन सिकेपछि गाउँमै रोजगारी पाएका छौं। तर, हाम्रा उत्पादनलाई बजारसम्म पुर्याउन गाह्रो छ,” मोदीकी एक महिला उद्यमी सीता गर्बुजाले भनिन् ।

पर्वतमा हाल एक दर्जनभन्दा भन्दा बढी परिवार अल्लो उद्योगमा संलग्न भएका छन ।

पर्वतका पर्यटकीय स्थलहरू जस्तै, गुप्तेश्वर गुफा, अल्पेश्वर गुफा ,अग्ला र लामा झोलुङ्गे पुल, बन्जी र पञ्चासे क्षेत्रमा आउने पर्यटकहरुसँगै मुस्ताङ जाने पर्यटकहरुलाई समेत अल्लोका उत्पादनहरू बिक्री गर्न सकिने सम्भावना छ । नेपालको पर्यटन मन्त्रालयले सांस्कृतिक र प्राकृतिक सम्पदालाई प्रवर्द्धन गर्न यस्ता स्थानीय उत्पादनलाई जोड दिने नीति लिएको छ। पर्वतको अल्लोलाई विशेष किसिमले प्रबर्द्धन गर्न सके पर्यटकहरूलाई आकर्षित गर्न र स्थानीय अर्थतन्त्रलाई बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

अल्लो उद्योगले बजार पहुँच, प्रशोधन लागत, र यातायातको समस्याको सामना गरिरहेको छ। नेपालका अन्य पहाडी जिल्लाहरू (जस्तै रुकुमपूर्व) मा अल्लो उद्योगले सामना गरेका समस्याहरू पर्वतमा पनि देखिन्छन्। “हाम्रा उत्पादनहरू गाउँमै थन्किन्छन् ,बजार पाउँदैनन् ,” जलजलाका एक उद्यमीले गुनासो गरे। यस्ता समस्यालाई समाधान गर्न स्थानीय सरकारले बजार व्यवस्थापन गरिदिनु पर्ने देखिन्छ। गण्डकी प्रदेश सरकारले लघु उद्योगलाई प्रोत्साहन गर्न अनुदान र तालिम कार्यक्रम सञ्चालन गरिरहे पनि पर्वतका अल्लो उद्दोगीहरु त्यसको पहुँच बाट टाढा रहेको मोदीका सामाजिक अगुवा कृष्णप्रसाद सुवेदी बताउँछन् ।

साथै, नेपाल उद्योग वाणिज्य महासङ्घ पर्वतले पनि यस्ता स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउन विशेषगरी मेला महोत्सवहरुमा सहयोग गर्दै आएको छ। पर्वतका उद्यमीहरूलाई बजार पहुँच र प्रचार-प्रसारमा सहयोग गर्न थप नीतिगत प्रयास गरिरहेको उद्योग वाणिज्य संघ पर्वतका अध्यक्ष पौडेल बताउँछन् ।

जिल्लामा उत्पादन भएको अल्लोलाई ठुलो बजारसम्म पुर्याउन लागि परेका बासखर्कका बुद्धि पुर्जा पर्वतको अल्लो उत्कृष्ट मानेर बजारमा माग भइरहने बताउँछन्। पर्वतको भौगोलिक बनावट र प्राकृतिक स्रोतले अल्लो उद्योगलाई समृद्ध बनाउने ठूलो सम्भावना बोकेको छ। यदि बजार व्यवस्थापन, प्राविधिक सहयोग र बजार पाएको खण्डमा अर्थतन्त्रलाई बलियो बनाउनुका साथै पर्वतलाई हस्तकला र पर्यटनको केन्द्रको रूपमा स्थापित गर्न सक्छ। अल्लो लाई व्यवसायिक खेतीको रुपमा समेत विस्तार गर्न सकिने कृषि कार्यालय पर्वतको निष्कर्ष छ।

Skip This
Skip This
Logo