काठमाडौं । हमासले नेपालका विपिन जोशीसहित ४८ इजरायली बन्दीको ‘बिदाइ तस्बिर’ सार्वजनिक गरेको छ। इजरायली सेनाले गाजा सहर कब्जा गर्ने कारबाही तीव्र पारेका बेला हमासले ४८ इजरायली बन्दीको ‘बिदाइ तस्बिर’ सार्वजनिक गरेको हो।
सार्वजनिक गरिएका तस्बिरमा नेपालका विपिन जोशी पनि रहेका छन्। सुदूरपश्चिम विश्वविद्यालयको कृषि सङ्कायमा अध्ययनरत ४९ विद्यार्थी ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल गएका थिए । त्यहाँ गएको एक महिना नहुँदै वि.सं. २०८० असोज २० गते इजरायलको दक्षिणी क्षेत्रस्थित अलिमुम किबुजमा हमास समूहले आक्रमण गरेको थियो । आक्रमणमा १० नेपालीसहित १ हजार २०० जनाको ज्यान गएको थियो भने एक सय २९ जना नागरिकलाई विदेशी नागरिकलाई बन्धक बनाएर राखेको थियो । बन्धक हुनेमा विपिन पनि थिए । त्यति बेलादेखि उनको अवस्था अज्ञात छ ।
हमासले सार्वजनिक गरेको यो तस्बिरमा बन्दीहरूको अनुहारहरूको संकलन छ र प्रत्येक मुनि १९८६ मा लेबनानमा हराएका इजरायली वायुसेनाका पाइलट रोन अरादको नाम लेखिएको छ। अरादलाई समातिएको र पछि मृत्यु भएको विश्वास गरिए पनि उनी अझै आधिकारिक रूपमा बेपत्ताको सूचीमा छन्।
आतङ्ककारी समूह हमासले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई अन्तिम समयको युद्धविराम र बन्दी सम्झौता अस्वीकार गरेकोमा तथा इजरायली रक्षा बलका प्रमुख स्टाफ आयल जामीरलाई आफ्नो विरोधका बाबजुद प्रधानमन्त्रीको गाजा शहर कब्जा गर्ने सैन्य निर्णयलाई स्वीकारेकोमा दोष लगाएको छ।
“नेतन्याहूको अस्वीकार र जामीरको आत्मसमर्पणका कारण, गाजा शहरमा सैन्य कारबाही सुरु हुँदै गर्दाको बिदाइ तस्बिर,” यस तस्बिरमाथि लेखिएको छ।
इजरायली वायुसेनाले रातभर आफ्नो सैन्य आक्रमण जारी राख्दै गाजा पट्टीमा १०० वटा लक्ष्यमा प्रहार गरेको छ, जसमा हमासले प्रयोग गरिरहेको सुरुङहरू, भवनहरू र अन्य पूर्वाधारहरू रहेको बताइएको छ । इजरायली रक्षा बलले शुक्रबार गाजा शहरमा “अभूतपूर्व बल” प्रयोग गर्ने चेतावनी दिएको थियो र पछिल्ला दुई हप्तामा हमासको लुक्ने ठाउँका रूपमा शंका गरिएका २० वटा गाजा शहरका टावर ब्लकहरू ध्वस्त पारेको अनुमान छ।
शनिबार पनि प्यालेस्टिनी बासिन्दाहरूलाई सो क्षेत्रबाट भाग्न आग्रह गरिएको थियो। अगस्टको अन्त्यदेखि करिब ४ लाख ८० हजार गाजा शहरका बासिन्दाहरू पलायन भइसकेका छन्।
कतारको टेलिभिजनमा हमासका वरिष्ठ अधिकारी बासेम नईमले भनेका छन्, “गाजा शहरमा हुने कारबाहीको कडा प्रतिरोध गरिनेछ, र दुश्मनले गाजाको सडकहरूमा ल्याउने मृत्यु र विनाश त्यसका सैनिकहरूमाथि खस्नेछ।” उनले थपे, “गाजा शहरको कारबाहीमा हामीलाई नोक्सान पुर्याउनेहरूले बन्दीहरूलाई पनि नोक्सान पुर्याउनेछन्, चाहे तिनीहरू जीवित हुन् वा मृत।”































प्रतिक्रिया