काठमाडाैं । अविरल वर्षा र त्यसपछिको बाढी तथा पहिरोका कारण देशभरका विभिन्न राजमार्गहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले आज जारी गरेको सूचना अनुसार, कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका प्रमुख राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको छ।
आज संखुवासभामा अवस्थित कोशी राजमार्ग दुई ठाउँमा पूर्ण रूपमा अवरुद्ध भएको । बागमती प्रदेशमा सबैभन्दा बढी सडक अवरुद्ध भएका छन्। रसुवामा नेपाल-चीन सीमा जोड्ने सडक पहिरोले पूर्ण रूपमा बन्द छ, भने गल्छी-त्रिशूली-मालुङ स्याप्रु सडक आंशिक रूपमा मात्रै सञ्चालनमा छ। यस्तै, सिन्धुपाल्चोकमा अरनिको राजमार्ग र चितवनमा नारायणगढ-मुग्लिन सडक खण्ड पनि पहिरोले पूर्ण रूपमा अवरुद्ध भएका छन्।
गण्डकी प्रदेशमा पनि सडक अवरोधको समस्या देखिएको छ । बागलुङमा कालिगण्डकी कोरिडोर दुई ठाउँमा आंशिक रूपमा खुला रहेको छ। नवलपरासी पूर्वमा पूर्व–पश्चिम राजमार्ग पहिरो र वर्षाका कारण दुई ठाउँमा आंशिक रूपमा अवरुद्ध छ। यसैगरी, म्याग्दीको बेनी–दरवाङ सडक भने पूर्ण रूपमा बन्द छ।
लुम्बिनी प्रदेशमा रुकुम पूर्वको मध्यपहाडी लोकमार्ग र पाल्पा–गुल्मी सडक आंशिक रूपमा सञ्चालनमा छन्। यस्तै, कर्णाली प्रदेशको जाजरकोट–डोल्पा सडक खण्ड पहिरोले पूर्ण रूपमा बन्द भएको छ।
यात्रुहरूलाई सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ।





























प्रतिक्रिया