निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन हुन आवश्यक छ -अध्यक्ष ढकाल

निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन हुन आवश्यक छ -अध्यक्ष ढकाल

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन हुन आवश्यक रहेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)को नवनिर्वाचित कार्यसमितिलाई मंगलवार महासंघमा स्वागत गर्दै अध्यक्ष ढकालले निजी सबैभन्दा ठूलो रोजगारदाता भएपनि हरेक आन्दोलनमा निजी क्षेत्र निशानामा पर्नु गम्भीर विषय भएको बताएका हुन् ।

आन्दोलनका क्रममा निजी क्षेत्रमाथि आक्रमण हुनुले निजी क्षेत्रको महत्व बुझ्न नसकिएको हो कि भन्ने अनुभूति भएको उल्लेख गर्दै उनले यस्ता विषयमा दृष्टिकोण निर्माण गर्न सञ्चारक्षेत्रलाई आग्रह गरे । निजी क्षेत्र देशको अर्थतन्त्रको मेरुदण्ड रहेको र निजी क्षेत्रले अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान गरिरहेको उनले बताए ।

अध्यक्ष ढकालले जेनजीको आन्दोलनका क्रममा भएको घुसपैठमा देशभरि भएका तोडफोड र आगजनीले हालसम्म उपलब्ध तथ्यांक र सूचना अनुसार करिब ८० अर्ब रुपैयाँ बराबरको निजी क्षेत्रमा क्षति भएको प्रारम्भिक आंकलन गरिएको जानकारी दिए । “हामी विभिन्न समयमा विभिन्न राजनीतिक तथा प्राकृतिक विपत्तीको सामना गर्दै यो अवस्थामा आइपुगेका हौं । भाद्र २३ र २४ गतेपछिको जेनजी आन्दालदन पछि सरकारी तथा निजी सम्मपतीमा ठूलो क्षति पुगेको छ । हामी सामु यो अवस्थाबाट माथि उठ्नु पर्ने चुनौती छ ।” उनले भने ।

यद्यपी वर्तमान सरकारले छोटो समयमा नै निजी क्षेत्रको धारणा अनुसार राहतका प्याकेज घोषणा गरेर निजी क्षेत्रको मनोबल उकास्ने काम गरेको र यसलाई महासंघले सकारात्मक रुपमा लिएको बताए ।

उनले तथ्यमा आधारित, खोजमूलक र जिम्मेवार पत्रकारिताले निजी क्षेत्रको विश्वसनीयता बढाउनुका साथै नीतिगत सुधारका लागि दबाब सिर्जना गर्ने बताउँदै सेजनसंगको सहकार्यमा महासंघ सधैं सकारात्मक रहेको धारणा राखे ।

Logo