मन्त्री घिसिङ र स्विस राजदूतबीच भेटवार्ता, ऊर्जा-पूर्वाधार क्षेत्रमा स्विस सहयोग निरन्तर रहने

मन्त्री घिसिङ र स्विस राजदूतबीच भेटवार्ता, ऊर्जा-पूर्वाधार क्षेत्रमा स्विस सहयोग निरन्तर रहने

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिकपूर्वाधार तथा यातायात एवम् शहरी विकासमन्त्री कुलमान घिसिङ र नेपालका लागि स्विट्जरल्याण्डका राजदूत डेनिएल मेउली बीच शिष्टाचार भेटवार्ता भएको छ ।

सिंहदरबार स्थित मन्त्रालयमा बिहीबार भएको भेटमा राजदूत मेउलीले मन्त्री घिसिङलाई बधाई दिंदै सफल कार्यकालको शुभकामना व्यक्त गरिन् । भेटवार्तामा स्विस सहयोगमा हाल सञ्चालित आयोजनाको प्रगति, आगामी दिनमा सहयोग गर्न सकिने सम्भावित क्षेत्र, लगानी र द्विपक्षीय सम्बन्ध बारे विस्तृत छलफल भएको छ ।

मन्त्री घिसिङले स्विस सरकारले दिएको निरन्तर सहयोग प्रति धन्यवाद ज्ञापन गर्दै, हाल गठित सरकारले चुनाव, आन्दोलनका कारण क्षति पुगेका संरचनाको पुनर्निर्माण, सुशासन कायम गर्ने र युवामा आशा जगाउन लाई प्राथमिकतामा राखेको बताए । उनले विद्युतीय सवारी साधन प्रवद्र्धन, घरायसी प्रयोजनमा विद्युत् प्रयोगलाई प्रोत्साहन, स्विस अनुभव अनुसार सडक यातायातमा सुरुङ प्रविधि अनुशरण, हरित हाइड्रोजन ऊर्जाको प्रवद्र्धन र साना उद्योग मार्फत रोजगारी सिर्जना गर्न तालिम उपलब्ध गराउन आग्रह गरे ।

हाल स्विस सहयोगमा साना सिँचाइ कार्यक्रम, पुलनिर्माण, सिद्धबाबा सुरुङमा प्राविधिक सहयोग, रोजगारमूलक सीप विकास तालिम लगायतका कार्यक्रम सञ्चालनमा छन् । भेटमा राजदूत मेउलीले नेपालको ऊर्जा तथा पूर्वाधार निर्माण क्षेत्रमा सहयोग गर्न स्विस सरकार सधैं तत्पर रहने प्रतिबद्धता व्यक्त गरिन् ।

Skip This
Skip This
Logo