व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि जारीदेखि नेपाली शेयर बजारमा हरियालीसम्म (भिडियोसहित)

व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि जारीदेखि नेपाली शेयर बजारमा हरियालीसम्म (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । केन्द्रबिन्दु बुलेटिनमा हामीले दैनिक पाँच वटा समाचार प्रस्तुत गर्ने गर्छाै । आजका प्रमुख पाँच समाचारहरुमध्ये कोभिड–१९ बाट प्रभावितहरुका लागि राहत दिन सरकारले व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७ जारी गरेको छ । यो कार्यविधि जारी भएसँगै अब घरेलु, साना तथा मझौला उद्यम, पयर्टन व्यवसायका श्रमिक र कर्मचारीको पारिश्रमिक भुक्तानीका साथै व्यवसाय सञ्चालन र निरन्तरताका लागि राहत प्रदान गरिने भएको हो ।

त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले पार्टीलाई एक ढिक्का बनाइ राख्न आफू मन्त्री पद छाड्न तयार रहेको बताएका छन् । नेकपा पर्साको पार्टी कार्यालय वीरगञ्जमा बिहीबार नेता कार्यकर्ताहरुसँगको छलफलमा बोल्दै उनले सरकार पुनर्गठन गर्दा पार्टीभित्रको विवाद अन्त्य हुने अवस्था आए राजीनामा दिन समेत तयार रहेको बताएका हुन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) आयोजना गर्ने भएको छ । क्यानको बुधबार भएको भर्चुअल वार्षिक साधारण सभाले एनपीएल आयोजना गर्ने निर्णय गरेको हो । क्यानको स्वामित्वमा रहने गरी नेपाली क्रिकेटको हितअनुकूल केन्द्रीय कार्यसमितिलाई नेपाल प्रिमियर लिगको सम्झौता प्रक्रिया अघि बढाउन जिम्मेवारी दिइएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए ।

त्यस्तैगरी देश खुला दिसामुक्त घोषणा भएपनि शौचालयको प्रभावकारी प्रयोग नभइरहेको अवस्थामा आज विभिन्न जनचेतनामुलक कार्यक्रम गरी विश्व शौचालय दिवस मनाइएको छ । नेपाल खुला दिसामुक्त क्षेत्र घोषणा भएपनि अझै कतिपय शौचालय अव्यवस्थित र प्रयोगविहिन छन् । देशका विभिन्न ठाउँमा रहेका सार्वजनिक शौचालयहरुको व्यवस्थापन हुन नसक्दा वातावरण प्रदुषण त भएको छ नै विभिन्न रोग फैलाउने डर पनि उत्तिकै छ । सुरक्षित शौचालयको अभावमा हुने फोहोरमैलाका कारण झाडापखाला लागेर हरेक वर्ष विश्वमा १ लाख १५ हजार भन्दा बढी बालबालिकाको ज्यान जाने गरेको छ ।

बिहीबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा ऐतिहासिक रेकर्ड कायम भएकोे छ । आज ६ अर्ब ११ करोड ६७ लाख ३० हजार ७१ रुपैयाँको कारोबार भएसँगै ऐतिहासिक रेकर्ड कायम भएको हो । आज कारोबार आएका १ सय ९८ कम्पनीको १ करोड ४० लाख ६२ हजार ५ सय ७ कित्ता शेयर खरिद बिक्रीबाट यो रकम बराबरको कारोबार भएको हो । आजको कारोबारमा आएका समूहगत सूचक बढेका छन् । आज कारोबार भएका सबै समूहमा हरियाली छाएको छ । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..

Logo