काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विद्यालयका प्रधानाध्यापक (प्रअ)हरूलाई दशैं र तिहारको अवसरमा शिक्षकहरूको तलब तत्काल निकासा गर्न कडा निर्देशन दिएका छन्।
दशैं-तिहार जस्तो ठूला चाडपर्वहरू नजिकिँदै गर्दा पनि विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकका कारण शिक्षकहरूले तलब नपाएको भन्दै शिक्षा मन्त्रालयमा धेरै गुनासो आएपछि मन्त्री पुनले यस्तो निर्देशन दिएका हुन्।
शिक्षा मन्त्रालयले शिक्षकहरूको तलब भुक्तानीका लागि रकम विद्यालयहरूमा पहिले नै पठाइसकेको स्पष्ट पार्दै मन्त्री पुनले सूचनामार्फत चेतावनी दिएका छन्। यदि यो समयभित्र पनि तलब निकासा नगरिएमा त्यस्ता विद्यालयका प्रधानाध्यापकलाई नियमानुसार कडा कारवाही गरिने मन्त्री पुनको भनाइ छ।
‘दशैं तिहारको अवसरमा विद्यालय व्यवस्थापन समितिले र प्रधानाध्यापकले तलब निकासा गरि दिएन भनेर धेरै गुनासो आएको छ । शिक्षा मन्त्रालयबाट तलब पहिले नै विद्यालयहरुमा पठाईसकेको छ । भोलीसम्ममा कुनै नाजायज र अन्यायपूर्ण तरिकाले तलव नपाएको शिक्षकहरुको तलव निकास नगरेमा त्यसता विद्यालयका प्रधानाध्यापकलाई नियमानुसार कारवाही गरिनेछ ।’ उनले भनेका छन् ।
मन्त्री पुनले चाडपर्वको समयमा शिक्षकहरूलाई आर्थिक समस्यामा पार्ने जो कोहीलाई पनि मन्त्रालयले छुट नदिने स्पष्ट पारेका छन्।





























प्रतिक्रिया