काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद डा.सुनीलकुमार शर्माले समाजसेवी महावीर पुनविरुद्ध फैलाइएको “विदेशमा छोरीलाई १ करोड खर्च गरेर पढाइएको” भन्ने हल्लालाई खारेज गर्दै सार्वजनिक रूपमा त्यसको भण्डाफोर गरेका छन्।
डा.शर्माले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत लामो स्टाटस लेख्दै यो हल्ला झुट्टा, तथ्यविहीन र चरित्र हत्या गर्ने प्रयास भएको आरोप लगाएका हुन् । “यो हल्ला निश्चय नै बदनियतपूर्ण हो,” उनले लेखेका छन्, “सामाजिक योगदानमा समर्पित, निस्वार्थ भावनाबाट काम गर्ने व्यक्तिलाई यसरी आरोप लगाउनु केवल आपराधिक सोचको उपज हो ।”

घटनाको वास्तविकता
डा. शर्माका अनुसार उनले व्यक्तिगत रूपमा महावीर पुन सरसँग भेट गरेर छोरीको पढाइबारे चर्चा गरेका थिए । त्यो भेट राष्ट्रिय अनुसन्धान केन्द्र, कीर्तिपुरमा भएको थियो, जहाँ उनले पुन सरको कार्यशैली, दृष्टिकोण र जीवनदर्शनबाट गहिरो प्रभाव पाएको उल्लेख गरेका छन् ।
छोरीको चिकित्सा शिक्षा सम्बन्धी परामर्शको क्रममा डा.शर्माले नै पहल गर्दै काठमाडौं मेडिकल कलेज (केएमसी) वा नोवेल मेडिकल कलेजमा पूर्ण छात्रवृत्तिका लागि चिकित्सा शिक्षा आयोग समक्ष सिफारिस गरेका थिए । “यद्यपि त्यो प्रयास सफल हुन सकेन, म पनि निराश भएँ,” उनले लेखेका छन् । त्यसपछि विदेशमा पढाइको विकल्पमा छलफल भएको हो । “मैले आग्रह गरी पासपोर्ट बनाउन लगाएँ । सुरुमा सरले अलिक अनाकानी गर्नुभएको थियो,” डा.शर्माले लेखेका छन् ।
“मैले भनेँ, पैसाको समस्या भए हामी सहयोग गर्छौँ । डा.गोविन्द केसी सरको आन्दोलन र नेताहरूको गलत नीतिका कारण नेपालका धेरै मेडिकल, डेन्टल सिटहरू काटिएका छन्, करिब २०० नर्सिङ कलेज बन्द भएका छन् । यसले तपाईँजस्तै हजारौँ नेपाली अभिभावकलाई असर पारेको छ ।” कुराकानीपछि महावीर पुन सहमत भएका थिए ।
विदेश पठाउने निर्णय – परिस्थिति र परामर्श अनुसार
नेपालमा चिकित्सा शिक्षाको अवसर सिमित भएको कारण अन्ततः विदेशमा पठाउने विकल्पमा सहमति भएको डा.शर्माले स्पष्ट पारेका छन् । उनले महावीर पुन सरका लागि व्यक्तिगत रूपमा सहयोग समेत गर्न खोजेको तर सरले नम्रतापूर्वक अस्वीकार गरेको उल्लेख गरेका छन् ।
छोरीको भर्ना प्रक्रिया बंगलादेशको जहारूल इस्लाम मेडिकल कलेज, वाजितपुरमा भएको र सम्पूर्ण प्रक्रिया पारदर्शी, न्यूनतम खर्चमा सम्पन्न भएको शर्माको दाबी छ । “जम्मा खर्च ४१,००० अमेरिकी डलर हो भन्ने पुष्टि भएको छ, त्यो पनि किस्ताबन्दीमै भुक्तानी हुँदै आएको छ,” उनले स्पष्ट पारे ।
‘कन्सल्टेन्सी शुल्कसमेत नलिइएको’ – पारदर्शी प्रक्रिया
“कुनै कन्सल्टेन्सी शुल्क लिइएन, डा.नरेन्द्र मिश्रजस्ता साथीहरू मार्फत सबै प्रक्रिया पारदर्शी ढंगले सम्पन्न भयो,” डा.शर्माले लेखेका छन् । उनले महावीर पुनलाई ‘देशका सम्पत्ति समान’ व्यक्ति ठहर गर्दै यस्तो व्यक्तिमाथि आरोप लगाउनु राष्ट्रिय सम्पत्तिमाथिको आघात भएको बताएका छन् ।
शर्माले आफ्नो स्टाटसमा महावीर पुन सरको इमानदारीको एउटा प्रसंग पनि उल्लेख गरेका छन् । “हामीले उहाँको आत्मवृत्तान्त पुस्तक किन्यौँ । फिर्ता दिने पैसा उहाँसँग थिएन । हामीले ‘फिर्ता नचाहिने’ भने पनि उहाँले खोजेर फिर्ता गर्नुभयो,” उनले भनेका छन्, “यस्तो इमानदार व्यक्ति विरुद्ध यस्तो हल्ला कतिसम्म गैरजिम्मेवार हो, कल्पना गर्न सकिन्छ ।”
समाजप्रति सन्देश – एकजुट होऔँ, तथ्यमा बोलौँ
डा. शर्माले अन्त्यमा देशका जिम्मेवार नागरिकलाई आव्हान गर्दै भनेका छन्, “हामी समाज र देशको लागि उठ्नु पर्छ, एक जुट हुनु पर्छ । निराधार हल्लामा नलागौँ, प्रमाण र सत्यको आधारमा मात्रै बोलौँ ।”





























प्रतिक्रिया