इनरुवा
पूर्वी तथा पश्चिमी पहाडी जिल्लामा लगातार परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेकाले कोशी ब्यारेजको ५२ वटा ढोका मध्ये २९ वटा ढोका खुल्ला गरिएको छ । शनिबार राति ९ः१५ बजे गरिएको मापन अनुसार कोशी ब्यारेज भएर जाने पानीको बहाव दुई लाख १५ हजार ९७० क्युसेक प्रतिसेकेण्ड पुगेपछि कोशी ब्यारेजको २९ वटा ढोका खुल्ला गरिएको र ब्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालिएको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमौरियाले जानकारी दिए ।
उक्त ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार क्युसेक प्रतिसेकेण्ड भन्दा माथि पानीको भएपछि खतराको बत्ती बालिने गरेपनि सुनसरीमा खतराको अवस्था नरहेको प्रमुख जिल्ला अधिकारी प्रेम प्रकाश उप्रेतीले बताए ।
कोशी ब्यारेज भएर पानी बग्ने क्षमता पाँच लाख क्युसेक प्रतिसेकेण्ड भएकाले दुई लाख क्युसेक पानीको बहाव हुँदैमा आत्तिनु पर्ने अवस्था नरहेको ब्यारेजको ढोका खोल्नका लागि कोशी ब्यारेज कन्ट्रोल रुमलाई निर्देशन दिइएको निरीक्षण पछि उनले जानकारी दिए ।
रासस





























प्रतिक्रिया