विश्व फुटबलमा यतिवेला सबैभन्दा धेरै चर्चा क्रोएशियाको छ । क्रोएशिया विश्वकप उपाधी नजिक पुग्ला भन्ने कसैले अनुमान समेत गरेका थिएनन् । तर सबैलाइ आश्चर्यमा पार्दै बाल्कन राष्ट्र क्रोएशिया आइतबार विश्वकप फुटबलको बलियो मुलुक तथा पूर्व च्याम्पियन प्रmान्ससंग प्रतिशपर्धा गर्दैछ ।
कसरी उदायो क्रोएशिया ?
विश्वकपमा क्रोएसियाको यो सबैभन्दा ठूलो सफलता हो । सन् १९३० देखि १९९० सम्म युगोस्लाभियाको अंगका रुपमा रहेको क्रोएसिया सन् १९९१ मा स्तन्त्र भयो र १९९२ मा फिफाको सदस्यको मान्याता पायो । युगोस्लाभिया हुदा पनि उ विश्व फुटबलमा बलियो राष्ट्र थियो । तर १९९२ मा क्रोएशियाले विश्वकपमा छनोट प्रतियोगिता खेल्न पाएन । क्रोएसिया देश र त्यहाँको फुटबलको इतिहास धेरै लामो छैन । तर उसले सहभागिता जनाएको पहिलो विश्वकपमै शानदार प्रदर्शन गरेको थियो ।
सन् १९९८ मा फ्रान्समा भएको विश्वकपमा उसले तेस्रो स्थान हात पारेको थियो । संयोग त के छ भने त्यसबेला उसले सेमिफाइनलमा फ्रान्ससँग पराजय भोगेको थियो । र, तेस्रो स्थानको प्लेअफमा नेदरल्याण्डस्लाई हराएको थियो । यस पटक क्रोएसिया फाइनलमा पुगेको छ । फिफा विश्वकपको फाइनल खेल्ने अहिलेसम्मकै कम वरियताको राष्ट्र हो, क्रोएसिया ।
सन् १९९२, जुन बेला क्रोएसिया स्वतन्त्र भयो, त्यही बेलादेखि फिफाले फुटबल खेल्ने राष्ट्रहरुको वरियता क्रमको थालनी गरेको थियो । क्रोएसिया विश्वकपको फाइनल खेल्ने सबैभन्दा कम वरियता भएको राष्ट्र हो । क्रोएसिया टिमको सफलतामा उसको राष्ट्रियताको महत्वपूर्ण भूमिका रहँदै आएको छ । त्यहा फुटबल यस्तो माध्यम हो जसले सबै जनतालाई एकै स्थानमा ल्याइदिएको छ ।
क्रोएसिया, फुटबल र राष्ट्रियताको सम्बन्ध निकै गहिरो छ । जब आफ्नो राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय एरेनामा उत्रन्छ, क्रोएसियाको राष्ट्रिय भावना यति बढिदिन्छ की त्यसले कुनै खतरनाक रुप लिने त हैन भन्ने जस्तो देखिन्छ । क्रोएसियाको राष्ट्रियतामा फुटबलको सफलताले महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।
राष्ट्रिय भावनामा फुटबलको कस्तो महत्व छ रु भन्ने बुझ्नका लागि आधुनिक क्रोएसियाको जन्म भएको समयमा फर्कनु पर्दछ । २०औं सताब्धीको अधिंकास समयमा बाल्कन क्षेत्रका मानिसहरुलाई एकत्रित गरेको युगोस्लाभियाको एउटा अंग थियो, क्रोएसिया । सन् १९८० मा यस क्षेत्रको एकता कायम राख्न महत्वपूर्ण भूमिका निर्वाह गरेका टिटोको मृत्यु भएपछि जातियताको संघर्षहरु हुन थाले ।
सर्वियाप्रति झुकाव राख्ने तत्कालिन शासकबाट आफुमाथि अन्याय भएको महसुस गर्दै क्रोएसिया पनि स्तन्त्रको संघर्षमा होमियो । यस क्रममा क्रोएसिया क्षेत्रको क्लब डाइनामो जाग्रेव र युगोस्लाभियाली क्लब रेडस्टार बेलग्रेडवीचको भिडन्त मैदानमा भन्दा पनि मैदान बाहिर रोचक र खतरनाक हुने गरेको थियो । खेलाडी र समर्थककावीच झगडा, कुटपिट र माकाट जस्ता कुरा सामान्य थिए । त्यसैले नै क्रोएसियाको एकतालाई बलियो बनाउन समेत महत्वपूर्ण भूमिका खेलेको थियो ।
मैदान बाहिर समर्थकको एउटा निर्मम युद्ध नै चल्थ्यो । क्रोएसिया स्वतन्त्र भयो । तर युरोपेली फुटबल महासंघको मान्यता ढिला भएका कारण उसले सन् १९९४ को विश्वकपको छनोट प्रतियोगिता खेल्न पाए । त्यसपछि आयोजना भएको १९९६ को युरो कपमा भने उसले सहभागिता जनायो ।
पहिलो अन्तर्राष्ट्रिय सहभागितामा क्वार्टर फाइनलमा जर्मनीसँग पराजित भएको क्रोएसिया १९९८ को विश्वकपको क्वार्टर फाइनलमा जर्मनीलाई ३(० ले स्तब्ध बनाउँदै सेमिफाइनलमा पुगेको थियो । जुन प्रतियोगितामा नायक बनेका थिए उसका स्टार स्ट्राइकर डाभोर सुकर । प्रतियोगितामा ६ गोल गरेका सुकरले गोल्डेन बुट समेत जितेका थिए । अहिले क्रोएशिया स्वतन्त्र भएको दुइ दशक पुरा भएको छ ।
टिमको सफलतासँगै त्यहाँको राजनीति पनि प्रत्यक्ष रुपमा जोडिएको छ । रसियाविरुद्धको क्वार्टरफाइनलमा वर्तमान राष्ट्रपति कोलिन्दा ग्रावर किटोरोभिच क्रोएसियाको जर्सी लगाएर दर्शक दिर्घामा बसेकी थिइन् । उनको यो कदमले पनि क्रोएसिया राजनीति र फुटबलको सम्बन्ध प्रस्ट रुपमा देखिन्छ । तर यो पहिलो पटक भएको भने होइन । सन् २०१४ मा विश्वकप जितेपछि जर्मन चान्सलर एंगेला मर्केल पनि रंगशाला र खेलाडीको ड्रेसिङ रुममा समेत उपस्थित भएकी थिइन् ।
यति मात्र होइन, सेमिफाइनलमा इंल्याण्डलाइ पराजित गरेपछि क्रोएशियामा भएको मन्त्री परिषद् बैठकमा सरकारका सबै मन्त्रीहरु क्रोएशियाको राष्ट्रिय जर्सि लगाएर उपस्थित भएका थिए । यस्तै, ब्रसेल्समा भएको नेटो सम्मेलनमा समेत उसका राजदूत आफ्नो मुलुक क्रोएशियाकै जर्सिमै उपस्थित भए । यसबाट क्रोएशियाको फुटबल मोह प्रष्ट हुन्छ ।
क्रोएशियाको जनसंख्या मात्र चालिस लाख रहेको छ । फुटबल मोहमा चुर्लुम्म डुबेको क्रोएशियामा अहिले उसका राष्ट्रिय टोलीका सबै फुटबल खेलाडी राष्ट्रिय नायक बनेका छन् । यस्तो सबैभन्दा बढी चर्चा क्रोएशियाका कप्तान तथा हिरो लुका मोड्रिचको छ । चालिस लाख फुटबल प्रेमीको सपना अहिले यिनै मोड्रिचको खेलमाथी टिकेको छ । मोड्रिचले राम्रो खेलेको दिन क्रोएशियाले विरलै खेल हारेको छ ।
फाइनल पनि मोड्रिचले राम्रो खेलुन् भन्नेमा विश्वभरका क्रोएशियाका फ्यानहरुको चाहाना छ । मोड्रिचले स्पेनिस क्लब रियल मड्रिडबाट धेरै जादूयी खेलहरु पस्केका छन् । अब आइतवार हुने फाइनलमा पनि उनले त्यस्तै खेल खेल्नेछन् की छैनन्, त्यो अहिले नै भन्न सकिन्न ।
३२ वषिर्य मिडफिल्डर मोड्रिचले रियलका लागि कूल १ सय ६६ खेल खेल्दै १३ गोल गरेका छन् । यस्तै राष्ट्रिय टोलीबाट १ सय १२ खेल खेल्दै १४ गोल गरेका छन् । क्रोएशियाका यी सुपरस्टारलाइ अब आफ्नो मुलुकको लिजेण्ड बन्ने अवसर आएको छ । यो अवसरको सदुपयोग उनले कसरी गर्नेछन् भन्ने चासो सबैमा छ । टोलीमा मोड्रिचबाहेक मारियो मान्जुकिक, इभान पेरेसिच जस्ता खेलाडीको प्रदर्शन पनि उच्च हुनु जरुरी छ ।
यो विश्वकपमा क्रोएशिया
यसपटक क्रोएशियाको विश्वकप उपाधी यात्रा सहज भने भएन । विश्वकपको सबैभन्दा कठिन समुहमा परेको क्रोएशियाले त्यो समुहका अर्जेन्टिना, नाइजेरिया र आइसल्याण्डलाइ पराजित गरेर ९ अंकका साथ दोस्रो चरणमा पुगेको थियो । अर्जेन्टिना रहेको समुहमा क्रोएशिया पहिलो होला भन्ने अनुमान सायदै कसैले गरेका थिए । अन्तिम सोह्रको खेलमा क्रोएशियाले डेनमार्कलाइ पेनाल्टि शूटआउटमा पराजित गर्यो । क्वाटरफाइनलमा आयोजक रुसलाइ पनि पेनाल्टिमा नै पराजित गर्दै क्रोएशियाले सेमिफाइनलमा इंग्ल्याण्डसंगको भिडन्त पक्का गरेको थियो ।
अन्तिम चारको खेलमा पनि क्रोएशियाले जित अतिरिक्त समयमा निकालेको थियो । फाइनलमा प्रवेश गरेको क्रोएशियाले आफैंमा एउटा इतिहास रच्च सफल भयो । त्यो थियो, विश्वकप नकआउटका हरेका खेल अतिरिक्त समयमा पुयाएको रेकर्ड । यी सबै परिक्षामा जसोतसो पास गरेको क्रोएशियाले अब आफ्नो अन्तिम परिक्षामा कसरी प्रस्तुत हुनेछ, त्यो हेर्न बाकी छ । विश्वकप फुटबलमा पावरहाउसका रुपमा उदाउदै गरेको क्रोएशियालाइ हाम्रो पनि शुभकामना ।





























प्रतिक्रिया