काठमाडौं । आज आइतबार राति पनि मुग्लिन-नारायणगढ सडकमा सवारी साधन चलाउन नपाइने भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले सूचना जारी गरेर आज आइतबार साँझ ६ बजेदेखि रातभर सवारी सञ्चालन नगर्न भनेको हो।
चितवन प्रहरीले साँझ ६ बजेभित्र यस क्षेत्र भएर सवारी सञ्चालन गर्नेलाई गन्तव्यमा पुगिसक्न र यस क्षेत्र कटिसक्न भनेको छ।
मौसम पूर्वानुमानलाई ध्यानमा राखेर पहिरोको जोखिम रहेको यस सडक खण्डमा रातको समयमा सवारी सञ्चालनमा कडाइ गरिएको प्रहरीको भनाइ छ। चितवन र आसपासमा गएरातिदेखि नै पानी नपरे पनि पहिरोको जोखिम कायमै रहेको भनिएको छ।
यसअघि शनिबार पनि साँझ ६ बजेदेखि रातभर सवारी सञ्चालनमा रोक लगाइएको थियो। साँझ ६ बजेपछि काठमाडौँ, पोखरातर्फ जान आएका सवारीलाई होल्डिङ सेन्टरमा राखिने प्रहरीको भनाइ छ। यस सडकखण्डको तुइन खोलामा पहिरोको उच्च जोखिम छ। प्रहरीले अत्यावश्यक सवारी चलाउनै पर्ने भए सम्बन्धित क्षेत्रका सुरक्षा अधिकारीहरूसँग समन्वय गर्न पनि भनेको छ।





























प्रतिक्रिया