काठमाडौँ
बिरामीले प्रयोग गर्ने अक्सिजन ग्याँस उत्पादन तथा विक्रीवितरणमा सिन्डिकेट खडा गर्दै व्यापारीले प्रतिसिलिन्डर १ सय २५ प्रतिशत सम्म मूल्य बढाएका छन् । मुलुकका विभिन्न १० वटा अक्सिजन ग्याँस उत्पादक कम्पनीले साउन १ गते देखि लागू हुनेगरी साविकको २ सय रुपैयाँ मूल्यमा पाइने अक्सिजन ग्याँस सिलिन्डरको मूल्य बढाएर ४ सय ५० रुपैयाँ बनाएका हुन् । हरेक जिल्लामा कालोबजारी नियन्त्रण गर्ने जिम्मेवारी प्रमुख जिल्ला अधिकारी तथा त्यस अन्तर्गत रहेका संयन्त्रको हो ।
तर गृह मन्त्रालय अन्तर्गतको यो संयन्त्र कमजोर र निस्प्रभावी हुँदा व्यापारीले अक्सिजन ग्याँस जस्तो संवेदनशील बस्तुमा दोब्बर भन्दा बढीले मूल्य बढाएका हुन् । कारोबारलाई प्राप्त विवरण अनुसार नेपाल अक्सिजन ग्याँस उत्पादक संघले नै देशभरका कम्पनी र डिलरलाई पत्र लेखी नयाँ मूल्य अनुसार विक्रीवितरण गर्न निर्देशन दिएको छ । निर्णय साउन १ गतेबाट लागू हुने जनाइएको छ । यसअघि उत्पादक कम्पनीहरूले प्रतिस्पर्धाका आधारमा डिलरलाई सस्तोमा अक्सिजन ग्याँस उपलव्ध गराउँदा त्यसको प्रत्यक्ष फाइदा बिरामीमा परेको थियो ।
अब भने व्यापारीहरूको पछिल्लो निर्णयसँगै अस्पताल र घरमा रोगसँग संघर्षरत बिरामीले महँगोमा अक्सिजन ग्याँस खरिद गर्नुपर्ने छ । जसका कारण अस्पतालमा उपचाररत बिरामीको उपचार खर्च समेत बढ्ने छ । “संघको असार १९ गते सिद्धार्थ कटेज एन्ड रेस्टुरेन्टमा बसेको सम्पूर्ण अक्सिजन कम्पनीहरूको सामुहिक भेलाले साउन १ गते देखि अनिवार्य रूपमा लागू हुने गरी सानो सिलिन्डरको २ सय २५ र ठूलो सिलिन्डर ४ सय ५० रूपैयाँ मूल्य निर्धारण गरिएको छ,” संघले एक कम्पनीलाई लेखेको पत्रमा भनिएको छ, “साउन १ गते देखि पछिल्लो निर्णय अनुसार नै ग्याँसको विक्रीवितरण गर्नु हुन पनि सबैलाई सूचित गराइन्छ ।” अक्सिजन विक्री सम्वन्धि व्यापारीको पछिल्लो निर्णयप्रति गृह मन्त्रालयले चासो जनाउँदै संलग्न दोषीलाई कारबाही गरिने स्पष्ट पारेको छ ।
कारोबारबाट





























प्रतिक्रिया