बर्दिबास
छुवाछुत र जातीय विभेदको सिकार भएकी दलित महिला बुद्धमाया विश्वकर्माले आत्महत्याको प्रयास गरेकी छिन् । बुद्धमाया र उनकी छोरी मनीषा माथि दुव्र्यवहार र कुटपिट गर्नेलाई जिल्ला अदालत महोत्तरीले असार २४ गते ६ महिना सम्म कैद, जरिवाना र ५० हजार रुपैयाँ क्षतिपूर्ति दिने निर्णय सुनाएपछि सामाजिक बहिष्कारका कारण उनले आत्महत्याको कोसिस गरेको खुल्न आएको छ ।
अदालतले पीडकलाई जेल हाल्ने सजायँ सुनाएपछि ‘तैंले मुद्दा हालेर जेल पठाइस्’ भन्दै पीडितलाई छिमेकीले हेयपूर्ण र अपमानजनक व्यवहार सुरु गरेका थिए । छुवाछुतपछिको सामाजिक बहिष्करणबाट प्रताडित बुद्धमायाले मानसिक तनावकै कारण विष सेवन गरेको परिवारको दाबी छ । ‘अदालतले हामीलाई न्याय दिएको हो ’, पानी छोएको निहुँमा यातना भोगेकी बुद्धमायाकी छोरी मनीषाले भनिन्, ‘तर अदालतको फैसला छिमेकीले स्वीकार गर्न मानेका छैनन् ।
हामी माथि छिमेकी लगाएर पीडकले झन् दबाब दिइरहेका छन् ।’ समाजमा कसैले कसैलाई छुवाछुत गर्नु हुँदैन भन्ने स्कुलमा पढेको सम्झिँदै कक्षा ९ मा अध्ययनरत मनीषाले थपिन्, ‘यहाँ हामी दलित विश्वकर्माहरूका दुई घर मात्र छन् । धेरै घर अन्य जातिका छन् । उनीहरू भन्छन्, दलितसँग नबोल है । मुद्दा लगाइदिन्छन् ।’
विष सेवनपछि बर्दिबासस्थित शुभ स्वस्तिक अस्पतालमा भर्ना भएकी आमालाई हेरचाह गर्दै गरेकी मनीषाले स्कुलमा शिक्षकले पढाएको शिक्षा र समाजले गरेको व्यवहार उल्टो भएको अनुभव गर्दा आफूलाई अति नै दुःख लागेको बताइन् । उनले भनिन्, ‘अदालतले हाम्रो परिवारलाई न्याय गरे पनि छरछिमेकीले जंगली व्यवहार गरे । छरछिमेकीले हामीलाई दुुस्मन जस्तै ठानेका छन् । हामीसँग कोही बोल्दैनन् ।’
पानी छोएको निहुँमा वैशाख १५ गते साँझ छिमेकी कमला गिरी र उनका भान्जा रामबाबु दाहालले बुद्धमाया र छोरी मनीषालाई गाली–बेइज्जत गर्दै कुटपिट गरेका थिए । जातीय भेदभाव तथा छुवाछुत कसुर र सजायँ ऐन २०६८ को दफा ३ बमोजिमको र दफा ४ (३) बमोजिमको कसुर गरेको ठहर गर्दै पीडक कमला गिरी र रामबाबु दाहाललाई न्यायाधीश डण्डपाणि शर्माको इजलासले १० हजार रुपैयाँ जरिवाना र ५० हजार रुपैयाँ क्षतिपूर्ति सहित जेल सजायँको फैसला असार २४ गते सुनाएको थियो । कुटपिटका मुख्य अभियुक्त गिरीलाई ६ महिना सजायँ तोकिएको छ भने दाहाललाई ३ महिना कैद सजायँ सुनाइएको छ ।
अन्नपूर्णबाट































प्रतिक्रिया