तेह्रथुम
जिल्लाको म्याङलुङ नगरपालिका–६ सुर्केका ७४ वर्षीय दलप्रसाद लिम्बु मंगलबार बिहान खाना खाएर नजिकैको जिरिखिम्ती बजारसम्मको यात्रामा निक्लिए । पैदल हिँड्दा १० मिनेटको जिरिखिम्ती बजार पुग्न लिम्बुलाई एक घण्टा लाग्यो । उनी एक घण्टामा जसोतसो गन्तव्य त पुगे तर उनको शरीरभरी हिलो बोकेर । ती वृद्धलाई देख्नेले सोधे ‘बाजे हिलोमा पौडी खेलेर आएको हो ?’ उनी नाजवाफ भए । वृद्धलाई रिस उठ्यो प्रश्न सोध्नेसँग होइन बिकास गर्छु भनेर चुनाव जितेका नेताहरु सम्झेर ।
सदरमुकाम जोड्ने एक मात्र म्याङलुङ–बसन्तपुर सडकखण्ड पुरै हिलाम्मे भएपछि दलप्रसाद जिरिखिम्ती बजारसम्म पुग्दा सयौँ पटक हिलोमा चिप्लिएर लडेका थिए । सडकमा हिलैहिलो भएकाले दलप्रसाद जस्तै एक दर्जन बढी नागरिक दैनिक जसो हिलोमा लड्ने गरेका छन् । हिलाम्मे सडकको डिलमा हिँड्ने क्रममा चिप्लिएर लडेका वृद्धको फोटो अहिले सामाजिक संजालमा भाइरल भएको छ । हिलोमा पौडी खेले जस्तोे वृद्धको फोटो अनलाइन र फेसबुकमा हेरेका नागरिकले तेह्रथुमको प्रतिष्ठा गुमेको टिप्पणी गरेका छन् ।
जिल्लाका जनप्रतिनीनिधि, नेता र सांसदहरुले जिल्लाको विकासमा ध्यान नदिएको गुनासो स्थानीयले गरेका छन् । टिप्पणीकर्ताहरुले प्रधानमन्त्री केपी ओली जन्मेको जिल्लाको सडकको हालतले देशकै प्रतिष्ठा गुमेको प्रतिक्रिया समेत दिएका छन् । यो सडकखण्डको विभिन्न भाग ४ फिट भन्दा बढी हिलो भएपछि सवारी साधन र पैदल यात्रीहरुलाई समस्या भएको छ । हिलाम्मे सडकमा बालबालिका, विद्यार्थी र वृद्ध वृद्धाहरुलाई बढी सास्ती भएको स्थानीय घनश्याम परियारले जानकारी दिए ।
समाचार र तस्विर : अन्नपूर्णबाट





























प्रतिक्रिया