काठमाडौं ।
काठमाडौं । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले आफूलाई पक्राउ गरेर देखाउन चुनौती दिएका छन् । एक महिलाले दिएको उजुरीको आधारमा प्रहरीको साइबर ब्युरोमा बयान दिए लगत्तै बस्नेतले बुधबार पत्रकार सम्मेलन गरी आफूलाई समातेर देखाउन सरकारलाई चुनौती दिएका हुन् । नेता बस्नेत लाई शोभा पाठकले बलात्कार आरोपमा प्रहरीमा उजुरी दिएकी थिइन् ।
बस्नेतले आफूहरूले अब डिजिटल फोर्स गठन गरेर जेनजी आन्दोलनको नाममा भएका आगजनी, लुटपाट र हत्याको खोजीका लागि सरकारसँग प्रहरीमा जाहेरी दिने बताएका छन् । मलाई समातेर देखाउनुस् । विधिको पक्षमा, लोकतन्त्रको पक्षमा लड्नेहरू देश र जनताको पक्षमा जेल जान आफू तयार भए पनि कसैले लगाएको आरोप सह्य हुँदैन ।
जेनजी सरकारले आगजनी, लुटपाट र हत्यामा संलग्नहरूलाई कारबाहीको दायरामा ल्याओस्, उनले भने । नेता बस्नेतले सरकारले आगामी फागुन २१ गते घोषणा गरिएको निर्वाचनमाथि पनि आशंका उत्पन्न भएको बताएका छन् ।
यस्तै बस्नेतले बालेन शाह, सुदन गुरुङसहितको समूहमाथि गम्भीर आरोप लगाएका छन् । उनले शाह र गुरुङ लाई ‘विदेशी दलाल’ को संज्ञा दिँदै आपराधिक गतिविधिमा संलग्न भएको आरोप लगाए । ‘बालेन र सुदनलगायतका यी टिमहरू विदेशी दलाल हुन् । यिनीहरूले आपराधिक गतिविधि गरेका छन्, त्यसैले कारबाही उनीहरूबाट सुरु गर्नुपर्छ,’बस्नेतले भने ।
उनले हालैको आन्दोलन र संसद विघटनसम्बन्धी विषयमा एमालेले चाँडै औपचारिक धारणा लिने जानकारी दिए । संसद विघटन वैधानिक कि अवैधानिक भन्ने प्रश्न उठाउँदै उनले भने, ‘संसद पुनस्र्थापनाको माग लिएर हामी सर्वोच्च अदालतको ढोका ढकढक्याउँछौं । पार्टीले आधिकारिक रूपमा जाने कि कानुन व्यवसायीमार्फत जाने भन्ने विषयमा अन्तिम छलफल गरिरहेको छ ।’ उनले भने । बस्नेतले रास्वपाका कार्यकर्तामाथि पनि गम्भीर आरोप लगाउँदै जेनजी आन्दोलनमा रास्वपाका कार्यकर्ताहरुले आफूहरुको घर जलाएको बताए । उनले भने, ‘हाम्रो घर जलाउनको लागि रास्वपाका कार्यकर्ता आएका छन् । यी सबैको एक–एक हिसाब हामीले राखिरहेका छौं ।’
उनले आन्दोलनमा केही व्यक्तिहरू ‘मतियार’ का रूपमा प्रयोग भएको दाबी गर्दै बालेन शाहले पछि आन्दोलनमा सहभागीहरूलाई त्यागेको टिप्पणी गरे । ‘जब आन्दोलनको ठूलो आँधी बेहोरी आयो, त्यसपछि बालेनले हर्क साम्पाङदेखि सबैलाई खोलामा धकेलियो। अहिले हर्क साम्पाङ धरानदेखि कराउँदैछ,’उनले भने ।
बस्नेतले जेनजीले प्रारम्भमा शान्तिपूर्ण आन्दोलन गरेको र भ्रष्टाचार तथा ‘नेपो बेबी’ विरुद्ध अभियान चलाएको स्वीकार गरे । तर, आन्दोलनमा घुसपैठ भएको उनको भनाई छ । उनले भने, ‘जेनजीले शान्तिपूर्ण आन्दोलन गरेका थिए । भ्रष्टाचारको विरुद्ध, नेपो बेबीको विरुद्ध अभियान चलाएका थिएँ। त्यसको विरोध गरेका थिए । तर बिचमा घुसपैठ भएको थाहा भएपछि उनीहरुले नै प्रदर्शनकारीलाई फिर्ता हुन आग्रह गरे। तर, ४ घण्टाभित्र देशलाई ध्वस्त पार्ने काम भयो ।’































प्रतिक्रिया