काठमाडौं
राष्ट्रिय गौरवको आयोजना भेरी बबई डाइभर्सनमा सुरुङ खन्ने काम तीव्र भइरहँदा बाँध निर्माण प्रक्रिया सुरु नहुँदा तोकिएको समयमै काम सकिनेमा शंका उत्पन्न भएको छ । आयोजनाले सुरुङ खन्ने कामलाई मात्र प्राथमिकता दिएको छ । सुरुङ खन्ने र बाँध निर्माण गर्ने काम सँगसँगै हुनु पर्ने स्थानीयको माग छ ।
उक्त आयोजनामा बाँध निर्माण प्रक्रिया सुरु नगरिएपछि समयमै काम सकिनेमा स्थानीय संशकित भएका हुन् । २०६४ देखि प्रत्येक वर्ष सरदर एक अर्ब रुपैयाँ खर्च हुँदै आएको उक्त आयोजना आर्थिक वर्ष २०७७,७८ मा सम्पन्न गर्ने लक्ष्य सरकारको छ । उक्त आयोजनामा सुरुङ खन्नका लागि नेपालमा पहिलोपटक टनेल बोरिङ मेसिन (टिबिएम) प्रयोग गरिएको छ ।
सुर्खेत हुँदै बग्ने भेरी नदीको पानी बर्दियामा बग्ने बबई नदीमा मिसाएर बाँके र बर्दियाका ५१ हजार हेक्टर जमिनमा सिँचाइ गर्ने र ४८ मेगावाट बिजुली निकाल्ने आयोजनाको लक्ष्य छ । भेरी नदीको पानीलाई सुर्खेतको भेरीगंगा–९ चिप्ले देखि १२ किलोमिटर सुरुङ खनेर बर्दियाको बबईमा झार्ने योजना छ ।
सुरुङ खन्ने तथा भेरी नदीमा बाँध बनाउने कार्य सँगसँगै हुनु पर्नेमा आयोजनाको ध्यान सुरुङ खन्ने तिर मात्र केन्द्रित भइरहेको भन्दै सबैतिर आलोचना भइरहेको छ । प्रतिकिलोमिटर सुरुङ खन्न एक अर्ब रुपैयाँ खर्च भइरहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय स्रोतले जनाएको छ । आयोजनाको कुल लागत १६ अर्ब ४३ करोड रुपैयाँ मध्ये १२ अर्ब रुपैयाँ सुरुङ खन्नका लागि मात्र खर्च हुने भएको छ ।
सिँचाइ र विद्युतका लागि पुनः डिजाइन गर्न अझै केही समय लाग्ने स्रोतले बतायो । बाँध निर्माणस्थलमा जग्गा अधिग्रहणको प्रक्रिया पनि अघि बढाइएको छैन । विज्ञहरूले तोकिएको समयमा सिँचाइ सुविधा र विद्युत निकाल्न नसक्ने हो भने सुरुङका लागि खर्च गरिएको अर्बौं रकमको कुनै अर्थ नहुने बताएका छन् ।
नागरिकबाट































प्रतिक्रिया