काठमाडौं
सवारी दुर्घटनामा पछिल्ला पाँच वर्षमा देश भर १० हजार भन्दा बढीले ज्यान गुमाएका छन् । सरकारी तथ्यांक अनुसार प्रत्येक वर्ष दुई हजार सर्वसाधारणको ज्यान दुर्घटनामै जाने गरेको छ । यो संख्या प्राकृतिक विपत्तिबाट ज्यान गुमाउनेहरूको भन्दा झन्डै दुई गुणा धेरै हो । तथ्यांक अनुसार मुलुकभर प्राकृतिक विपत्तिबाट मात्रै प्रत्येक वर्ष ९ सय सर्वसाधारणले ज्यान गुमाउने गरेका छन् ।
नेपाल प्रहरीका प्रवक्ता एसएसपी सैलेश थापाले प्राकृतिक विपत्ति भन्दा सवारीसाधन दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या दुई गुणा धेरै रहेको बताए । उनले भने, ‘सडक दुर्घटना मानवनिर्मित संयन्त्रबाट हुने हुन् । यसबाट ज्यान गुमाउनेको संख्या प्राकृतिक विपत्तिबाट ज्यान गुमाउनेको भन्दा डबल धेरै देखिन्छ । यसो हुनु दुःखद हो ।’
प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष ०७४, ७५ को वैशाख मसान्त सम्म मुलुकभर सवारी दुर्घटनाका ९ हजार ५० घटना भए । दुर्घटनामा २ हजार ९७ ले ज्यान गुमाए । १० हजार २ सय ३३ घाइते भए । सरकारी तथ्यांक विश्लेषण गर्दा मुलुकभर हुने झन्डै ७४ प्रतिशत सवारीसाधन दुर्घटना चालकको लापरबाहीका कारण हुने गरेको देखिन्छ । तथ्यांक अनुसार पाँच वर्षको अवधिमा मुलुकभर भएका ४६ हजार ७ सय ९२ सवारी दुर्घटनामा ३४ हजार पाँच सय २५ दुर्घटना चालकको लापरबाहीले भएको छ । यो जम्मा दुर्घटनाको ७३.७८ प्रतिशत हो ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया