काठमाडौँ। पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले अहिले कसैसँग पनि पार्टी एकीकरण गर्ने मौसम नभएको बताएका छन् ।
श्रीमतीको उपचारका क्रममा नयाँ दिल्लीमा रहेका खनालले गत २५ असोज २०८२ मा एक सन्देश जारी गर्दै माओवादी केन्द्रसँग एकताकाे चर्चा चलिरहेका बेला यस्ताे बताएका हुन् । उनले भनेका छन्, ‘यतिबेला हाम्रो पार्टीको निम्ति कसैसँग पनि पार्टी एकीकरण गर्ने मौसम होइन र छैन । हामी कोहि पनि गलत बाटो हिँड्दै भड्खालोमा पर्ने र अरुलाइ पार्ने दिशामा नलागौँ । सबभन्दा पहिले हाम्रो ४ वर्षे विद्रोहको यात्राको निर्मम समीक्षा गरौं ।’
साथै नेता खनालले अहिलेको अवस्था नेताहरूको घनघोर असफलताको उपज भएको र अब सबै पुस्ताको क्रान्तिकारी पुनर्गठन र रूपान्तरण अनिवार्य रहेको बताएका छन्।
२३ भदौको जेनजी आन्दोलन र २४ भदौको महाविध्वंशपछि ओली सरकार विघटन भई पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन र निर्वाचन घोषणा भएको सन्दर्भमा खनालले युवा आन्दोलनलाई ‘फगत आवेग वा बाह्य शक्तिको षड्यन्त्र मात्र नभई सत्तामा रहेका पार्टीका मुख्य नेतृत्वको घनघोर असफलता’ भएको ठहर गरेका छन्। उनले वामपन्थी नेतृत्वहरू समेत दक्षिणपन्थीका पछि लागेर चौतर्फी सामाजिक-आर्थिक रूपान्तरण र राष्ट्रियतालाई सुदृढ गर्ने कार्यभार छोडी यथास्थितिवादको मार्गमा हिँडेको र ‘बिदेशीहरुसँग अपमानपूर्ण सन्धी र सझौता’ गर्न थालेपछि मुलुक भयावह संकटमा गएको आरोप लगाएका छन्।
नेता खनालले देश, जनता र वामपन्थी आन्दोलनलाई नयाँ धरातलबाट उठाउन ‘प्रत्येक पार्टीमा पुनर्गठन र रूपान्तरण अनिवार्य’ भएको बताएका छन्। उनले पार्टीभित्रका युवाहरूको आवाज अनुरूप पार्टीलाई सही वैचारिक, राजनीतिक कार्यदिशा, नीति र सिद्धान्तका आधारमा पुनर्गठन गर्दै ‘आमूल परिवर्तनकारी र नेपाली विशेषताको समाजवादका निम्ति दृढ संकल्पित पार्टीमा रूपान्तरण’ गर्न जोड दिएका छन्।































प्रतिक्रिया