टीओबी समूहको प्रष्टीकरण- हामी नेपाली नै हो, आरोप लगाउनुअघि तथ्यको पुष्टि गरौं

टीओबी समूहको प्रष्टीकरण- हामी नेपाली नै हो, आरोप लगाउनुअघि तथ्यको पुष्टि गरौं

केन्द्रबिन्दु
60
Shares

काठमाडौं । ‘विदेशी समूह’ भन्दै जेनजी आन्दोलनका क्रममा भएका आगलागी र तोडफोडमा संलग्न रहेको आरोप लागेपछि ‘द ओरिजिनल ब्रदर्स’ (टीओबी) बाइकर समूहले खण्डन गरेको छ।

टीओबी समूहका सल्लाहकार हाकिम गुरुङ उर्फ सुरेन्द्र गुरुङले नेपालका विविध जाति, समुदाय र पृष्ठभूमिका युवा सदस्यहरूको समावेशी समूह भएको दाबी गरेका हुन् । देशप्रति माया देखाउने, भ्रष्टाचारविरुद्ध सचेतना जगाउने तथा शान्तिपूर्ण र कानुनी सीमाभित्र रहेर जनआवाज उठाउने आफ्नो उद्देश्य रहेको जनाएको छ ।

भाद्र २३ गतेको आन्दोलनमा समूह शान्तिपूर्ण रूपमा सहभागी भएको स्वीकार गर्दै भाद्र २४ गते आगलागी र तोडफोड भएको भनिएको घटनास्थलमा आफ्ना कुनै पनि सदस्यहरू उपस्थित नभएको र समूहले हिंसात्मक वा गैरकानुनी गतिविधिमा संलग्नता नजनाएको स्पष्ट पारेको छ।

स्पष्टीकरणमा एक सदस्यको पूर्वज तिब्बती भएको विषयलाई लिएर ‘जातीय वृत्तान्त वा भेदभावको आधारमा लक्षित गरिनु निन्दनीय’ भएको बताउँदै उनीहरू पूर्ण नेपाली नागरिक रहेको उल्लेख छ । समूहले आफ्नो अधिकांश सदस्यहरू जेनजी उमेरका युवाहरू भएको र उनीहरू परिवर्तन, पारदर्शिता र जिम्मेवारीको पक्षमा आवाज उठाउने भएकाले उनीहरूलाई अपमान र ‘घरेलु राजनीतिक रंग’ मा फसाएर मेटाउन खोज्नु गलत भएको धारणा राखेको छ।

टीओबीले सबै सञ्चारमाध्यम र सर्वसाधारणसँग समाचार वा सामाजिक सञ्जालमा कुनै पनि आरोप लगाउनुअघि तथ्यको पुष्टि गर्न र प्रमाण प्रस्तुत गर्न विनम्र अनुरोध गरेको छ।

अन्त्यमा, समूहले तोडफोड वा आगजनी गरेको ठोस प्रमाण (प्रमाणिक भिडिओ, तस्बिर, कागजात वा कानुनी दाबी) भएमा ती प्रमाणको सामना गर्न र कानुनअनुसार सजाय भोग्न पूर्ण रूपमा तयार रहेको प्रतिबद्धता जनाएको छ। तर अनावश्यक आरोप, असत्य प्रचार र जातीयद्वेषजन्य टिप्पणीबाट आफ्नो सुरक्षा र बौद्धिक सम्मानको लागि कानुनी तथा सामाजिक उपायहरू लिन बाध्य हुने चेतावनी पनि दिएको छ।

Skip This
Skip This
Logo