काठमाडौँ
मलेसिया सरकारले बिना दर्ता आफ्नो देशमा बस्ने नेपाली लगायत विदेशी कामदारलाई १ हप्ता देखि धमाधम पक्राउ गर्न थालेको छ । स्वदेश फिर्ता हुन वा वैधानिक हैसियत कायम गर्न दिइएको म्याद सकिएपछि अवैधानिक रूपमा मलेसियामा बसेका नेपाली सहित ६ हजारलाई त्यहाँको अध्यागमन कार्यालयले पक्राउ गरेको हो ।
‘ओपी मेगा–३’ नाम गरिएको विदेशी नागरिक पक्राउ अभियानमा हाल सम्म ६ हजार ६ सय ७८ जना विदेशी पक्राउ गरिसकेको छ । यसरी पक्राउ पर्ने २ सय जना नेपाली रहेको मलेसियास्थित नेपाली दूतावासले जनाएको भए पनि पक्राउ कार्य जारी रहेकाले वास्तविक तथ्यांक लिने कार्य भइरहेको बताइएको छ । मलेसिया सरकारले बिनादर्ता बसिरहेका नेपाल लगायत अन्य देशका नागरिकलाई स्वेच्छिक देश फर्कन वा दर्ता प्रक्रियामा आउन दिएको समयसीमा सकिएपछि विगत १ हप्ता देखि पक्राउलाई तीब्र बनाएको छ । वैधानिक हुने वा स्वदेश फर्कने म्याद असार १६ गते सकिएको थियो ।
मलेसियाको अध्यागमन कार्यालयका महानिर्देशक डाटुक मुस्तफार अलीले २ दिन अघि गरिएको पत्रकार सम्मेलनमा ६ हजार ६ सय ७८ विदेशीलाई पक्राउ गरी मलेसियामा विभिन्न १३ वटा बन्दीगृहमा राखिएको जनाएका छन् । मलेसियाको अध्यागमन विभागले पत्रकार सम्मेलनको आयोजना गरेर पक्राउ परेका विदेशीलाई प्रक्रिया पूरा गरेर स्वदेश पठाउने जनाएको मलायामेल अनलाइनले उल्लेख गरेको छ ।
असार १६ पछि पक्राउ गरिएको मध्ये सबैभन्दा बढी १ हजार ५ सय नेपाल लगायत अन्य देशका नागरिकलाई बुकेट जेलमा राखिएको जनाइएको छ । पक्राउ गरिएका विदेशीलाई मलेसियाका विभिन्न १४ वटा जेलमा राखिएको त्यहाँको अध्यागमन कार्यालयले जनाएको छ । पक्राउ गरिएका बाहेक १ लाख १७ हजार ४ सय ४८ जनाले स्वदेश फर्कन आवेदन दिएको अध्यागमन कार्यलयले जनाएको छ ।
कारोबारबाट































प्रतिक्रिया