काठमाडौं। नेपालमा दिगो विद्युतीय गतिशीलतालाई प्रवर्द्धन गर्नका लागि कुमारी बैंक लिमिटेड र जीआईजेडबीच समझदारी भएको छ।
यस सहकार्यले विशेषगरी विद्युतीय माइक्रो तथा मिनी बसको प्रयोग र सञ्चालनलाई तीव्रता दिन वित्तीय संयन्त्र र डिजिटल नवप्रवर्तनलाई सहयोग पुर्याउनेछ। यस पहलले सार्वजनिक यातायात सञ्चालकलाई वित्तीय पहुँच उपलब्ध गराउने लक्ष्य राखेको छ।
नेपालको लागि दिगो विद्युतीय यातायात परियोजना, जीआईजेड नेपाल र ग्लोबल ग्रीन ग्रोथ इन्स्टिच्युटद्वारा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसहितका सरकारी तथा सम्बन्धित साझेदार संस्थासँगको सहकार्यमा कार्यान्वयन भइरहेको संयुक्त पहल हो। यो परियोजना न्यूनीकरण कार्य सुविधाको आर्थिक सहयोगमा सञ्चालन भइरहेको छ।
यस कार्यक्रमले करिब ३,५०० विद्युतीय मिनीबस सञ्चालनमा ल्याउने महत्वाकांक्षी लक्ष्य राखेको छ, जसले नेपालको सार्वजनिक यातायात प्रणालीलाई थप सफा, हरित र दिगो बनाउन महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
परियोजनाअन्तर्गत सार्वजनिक यातायातलाई थप सजिलो, सुरक्षित र स्मार्ट बनाउन मोबाइल एप्लिकेसन, जीपीएस डिभाइस, एलईडी रुट डिस्प्ले तथा ओपन लुप ई–टिकेटिङ सिस्टम जस्ता डिजिटल सुविधाहरू समेत प्रयोगमा ल्याइनेछ।
यो सहकार्यले सार्वजनिक यातायात व्यवसाय गर्नेहरूलाई विद्युतीय माइक्रो र मिनीबस प्रयोग गर्न सहज बनाउनेछ। यसका लागि कुमारी बैंकले विशेष वित्तीय योजना र प्रारम्भिक डाउन पेमेन्ट अनुदानको व्यवस्था गर्नेछ, जसले गर्दा सवारी खरिदको लागत कम भई यो आर्थिक रूपमा पनि सहज बन्नेछ।































प्रतिक्रिया