काठमाडौँ
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठकमा सरकारका कामको आलोचना भएको छ । प्रमुख प्रतिपक्षी कांग्रेसले सरकारका निर्णय र कामबारे प्रश्न उठाइरहेका वेला नेकपा भित्रबाटै पहिलोपटक आलोचना भएको हो ।
केन्द्रीय सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमा सरकारको कामबारे प्रश्न उठेको बताए । ‘सरकारको कामबारे पनि छलफल भएको थियो,’ उनले भने, ‘केन्द्र र प्रदेश सरकार बीचको समन्वय, मन्त्रीहरूको कामका विषयमा अर्को बैठकमा छुट्टै छलफल गरिनेछ ।’ प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहीबार बसेको स्थायी समिति बैठकमा चीन भ्रमणको ब्रिफिङ, सरकारको काम, पार्टी विधान र नियमावलीमा केन्द्रित रहेर छलफल भएको थियो ।
बैठकमा नेताहरू भीमबहादुर रावल, अमृतकुमार बोहरा, युवराज ज्ञवाली, रघुजी पन्त लगायत करिब एक दर्जन नेताले सरकारको आलोचना गरेका हुन् । सरकारको काम जनताले दैनिक जीवनमा प्रत्यक्ष अनुभूति गर्ने गरी प्रभावकारी हुन नसकेको उनीहरूको टिप्पणी थियो । यातायात क्षेत्रको सिन्डिकेट तोडेर सरकारले राम्रो सुरुवात गरे पनि निरन्तरता दिने सवालमा गृहमन्त्री र भौतिक पूर्वाधारमन्त्री बीच आपसी समन्वय नहुँदा नकारात्मक सन्देश गएको स्थायी समिति सदस्यहरूको भनाइ थियो ।
कतिपय नेताले प्रदेशहरूमा पनि बजेटका विषयलाई लिएर आलोचना भइरहेको विषय पनि उठाए । उनीहरूले प्रदेश र केन्द्र सरकार तथा प्रदेश सरकार र पार्टीको संसदीय दलबीच नै राम्रो समन्वय नरहेकोमा ध्यानाकर्षण पनि गराए । यता प्रधानमन्त्री ओलीले सरकारले राम्रो काम गरिरहँदा पनि प्रमुख विपक्षी कांग्रेस गोविन्द केसी प्रकरण र अन्य विषयलाई मुद्दा बनाएर हमलामा उत्रिएको भन्दै उनले कडा प्रतिवादमा उत्रिन निर्देशन दिएका थिए ।
नयाँ पत्रिकाबाट































प्रतिक्रिया