काठमाडौं । इजरायल र हमासबीच भएको युद्धविराम सम्झौताको पहिलो चरणअन्तर्गत आज रिहा गरिने २० जना जीवित बन्धकहरूको सूची हमासको सैन्य शाखाले सार्वजनिक गरेको छ। तर, उक्त सूचीमा हमासको कब्जामा रहेका नेपाली नागरिक विपिन जोशीको नाम भने समावेश छैन।
हमासले सार्वजनिक गरेको २० जना जीवित बन्धकहरूको नाम पहिले नै वार्ताको क्रममा इजरायललाई बुझाइएको र जीवित बन्धकहरूको सम्झौताअन्तर्गत रिहा हुने पुष्टि भएको थियो। रिहा हुने बन्धकहरू प्रायः इजरायली नागरिक छन्।
‘द टाइम्स अफ इजरायल’ लगायतका अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार रिहा हुने बन्धकहरूको समूहमा अपहरण गरिएका इजरायली सैनिक तामिर निम्रोदी र नेपाली नागरिक विपिन जोशीको नाम समावेश गरिएको छैन।
‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका विपिनलाई सन् २०२३ अक्टोबर ७ मा हमासले किबुत्ज क्षेत्रबाट बन्धक बनाएर लगेको थियो। उनको रिहाइको मागमा नेपाल सरकार र परिवारले निरन्तर पहल गर्दै आएका छन्। युद्धविरामपछि विपिन पनि मुक्त हुनेमा आशा गरिएको थियो। तर फेरि उनको परिवार र नेपालमा उनको रिहाइको प्रतीक्षा गरिरहेकाहरूमा निराशा छाएको छ।































प्रतिक्रिया