काठमाडौं । इजरायलले हमासको कब्जामा रहेका विपिन जोशी जीवित नभएको स्पष्ट पारेको छ । आज इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारी, इजरायली सेनाको कमाण्डरले विपिनको परिवारलाई यस्तो जानकारी दिएको हो ।
भिडियाे कुराकानीमा हाल अमेरिकामा रहेका विपिनकी आमा पद्मा र बहिनी पुष्पा जोडिएका थिए। परिवारका सदस्य किशोर जोशी, नेपाली राजदूत धनप्रसाद पण्डित र इजरायली डिफेन्स फोर्सका अधिकारी जाेडिएका थिए।
केहीदिनअघि हमास र इजरायलबीचको युद्धविरामपछि विपिन पनि मुक्त हुनेमा आशा गरिएको थियो। तर यस्तो खबरले उनको परिवार र नेपालमा उनको रिहाइको प्रतीक्षा गरिरहेकाहरूलाई मर्माहत बनाएको छ ।
अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी सन् २०२३ को अक्टोबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । सो आक्रमणको क्रममा १० जना नेपाली विद्यार्थीहरु मारिएका थिए । हमास लडाकुहरुले विपिनलाई भने आफूसँगै लिएर गएका थिए । सन् २०२३ नोभेम्बर १७ मा विपिन गाजा क्षेत्रको अल शिफा अस्पतालमा देखिएका खबरहरु पनि बाहिरिएका थिए । तर त्यसपछि उनको अवस्था अज्ञात थियो । जोशीसँग एउटै फर्ममा कार्यरत रहेका र उद्धार गरेर नेपाल फर्काइएका विद्यार्थीहरूले हमासले प्रहार गरेको ग्रिनेड फालेर उनले आफूहरूलाई बचाएको बताएका थिए। अज्ञात विपिनको अवस्था सार्वजनिक गराउने सरकारी र अन्तर्राष्ट्रिय कूटनीतिक प्रयास जारी रहे पनि त्यसमा खास प्रगति नदेखिँदाको परिणाम हो यो ।
बुधबार राति मात्र विपिनको पुरानो भिडिओ सार्वजनिक गरिएको थियो। त्यो भिडिओ उनी अपहरण भएको केही समयपछि मात्रै खिचिएको थियो। झन्डै ३० सेकेन्डको उक्त भिडिओमा विपिनले आफ्नो परिचय मात्रै दिएका थिए ।





























प्रतिक्रिया