काठमाडौं । विद्युतीय चुरोट भेपमार्फत सुन बेचबिखन गरी आपराधिक समूह बनाई सङ्गठित रुपमा लाभ लिएको अभियोगमा पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ। मुद्दा दर्ताका क्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले महरालाई पनि अदालतमा उपस्थित गराएको थियो ।
महरालाई सीआईबीले आइतबार पक्राउ गरेको थियो । उनीविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो र ३ वर्षभन्दा बढी अवधि कैद सजाय माग दाबी गरिएको छ । उनीविरुद्ध मंगलबारदेखि थुनछेक बहस हुनेछ । बहसपछि धरौटीमा रिहा गर्ने कि थुनामा राख्ने भन्ने आदेश हुनेछ ।
विसं २०७९ पुष १० गते दुबईबाट नेपाल आएका चिनियाँ नागरिक ली हानसोङ्गले दुईवटा सुटकेसभित्र ७३ बट्टामा रहेको ७३० इलेक्टिक सिगरेट अवैध रूपमा त्रिभुवन विमानस्थल हुँदै नेपाल ल्याउँदै गरेको अवस्थामा जफत भएकामा त्यसलाई बेचबिखन गरी महराले लाभ लिएको आरोप छ ।
उक्त सुन त्रिभुवन अन्तरराष्ट्रिय भन्सारको स्टोरमा राखिएकामा उक्त कार्यालयका नायब सुब्बा रेवन्त खड्कासमेतले आफ्नो जिम्मा र संरक्षण रहेको नेपाल सरकारको गोदामबाट उक्त सुनसहितको सिगरेटमा रहेको रु आठ करोड ५५ लाख २८ हजार ३७४ बराबरको सुन बेचबिखन गरी आपराधिक समूह बनाई सङ्ठित रूपमा लाभ लिएको देखिएको सीआईबीको ठहर छ ।
२ महिनासम्म लगाएर अनुसन्धान गरेको सीआईबीले ९ किलो सुन तस्करी भएको निष्कर्ष निकाल्दै भन्सारकै नासु रेवन्त खड्कासहित ६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । पूरक अभियोजनमा चिनियाँ मूलका बेल्जियमका नागरिक दावा छिरिङ, उनका गाडी चालक लोकेन्द्र पौडेल, राहुल महरा, नीमा गुरुङलाई मतियार बनाएर मुद्दा दायर गरिएको थियो । महरा संलग्न रहेको भनिएको उक्त सुन तस्करीको फाइलमा अनुसन्धान अघि बढाउँदै उनीसँग केही दिन अघि बयान लिइएको थियो ।































प्रतिक्रिया