सांस्कृतिक पर्व सामाचकेवाका लागि माटाका मूर्ति बनाउने कार्यको शुभारम्भ

सांस्कृतिक पर्व सामाचकेवाका लागि माटाका मूर्ति बनाउने कार्यको शुभारम्भ

केन्द्रबिन्दु
0
Shares

जनकपुर ।

दाजुभाइ र दिदीबहिनीको प्रेमको प्रतीकका रूपमा मिथिलाञ्चलमा मनाइने गरिएको सांस्कृतिक पर्व सामाचकेवाका लागि आजदेखि माटाका मूर्ति बनाउने कार्यको शुभारम्भ भएको छ ।

यस पर्वका लागि भ्रातृद्वितीयाका दिन ल्याइएका माटोको आज पञ्चमी तिथि अर्थात् छठ पर्वको खरनाको दिनमा सिरी सामा बनाएर पर्वको शुभारम्भ गरिएको हो । प्रत्येक दिन माटाका मूर्ति बनाएर कात्तिक पूर्णिमाको रात्रि सामाचकेवा पर्व विधिवतरूपमा सम्पन्न हुन्छ ।

यो पर्व मिथिलानी र थारु समुदायका महिलाले मनाउने गर्छन् । ग्रामीण क्षेत्रमा अझै पनि यो पर्वको लोकप्रियता कायम छ भने तराईका शहरी क्षेत्रमा क्रमिकरूपमा यो पर्वप्रतिको आकर्षणमा कमी आएको महसुस गर्न थालिएको छ । काँचो माटोको बनाइएका मानव, चरा र जनावर लगायतका मूर्तिलाई ‘सामा’ र सोही सामालाई आगोमा पकाएमा त्यसलाई ‘चकेवा’ भनिन्छ ।

भगवान् कृष्णकी सुपुत्रीको नाम सामा थियो । भगवान् कृष्णले आफ्नी छोरीलाई ‘चरा’ बन्ने श्राप दिएपछि पुनः मानव योनीमा फर्काउन सामाका भाइ साम्बले खेलेको भूमिकालाई स्मरण गर्दै यो पर्व मनाउने गरिएको हो । सामा वृन्दावनमा घुम्न जाँदा ऋषिसँग रमण गर्ने गरेको झुठो कुरा नोकरानी डिहुलीले कृष्णसमक्ष लगाइन् । डिहुलीको कुरा सुनेर भगवान् कृष्ण आवेशमा आएर सामा र वृन्दावनका समस्त ऋषिलाई चरा बन्ने श्राप दिए ।

सामाका भाइ साम्बले यी विषयमा जानकारी पाएपछि आफ्नी दिदीलाई श्रापबाट मुक्त गराउनका लागि घोर तपस्या गरे । तपस्याबाट खुशी भएर कृष्णले सामासहित सबै ऋषिलाई श्रापबाट मुक्त गरे ।

भाइले आफ्नी दिदीलाई श्रापबाट उद्धार गरेकाले अबदेखि जसले माटोको सामा बनाएर गाउँभरमा भ्रमण गरी पर्व मनाउँछन्, उसको दाजुभाइ दीर्घायु हुने सामाले वरदान दिएकाले द्वापर कालदेखिनै यो पर्व मनाउन थालिएको भविष्यपुराणमा उल्लेख गरिएको छ ।

यस पर्वका लागि छठ पर्वको खरनादेखि माटाका मूर्ति बनाउने कार्यको शुभारम्भ भएपछि सो दिन सिरी सामा, दोस्रो दिन चकेवाका साथै एक पातिमा बसेका सातवटा चरा बनाउँछन् । यसलाई ‘सतभैया’ भनिन्छ । त्यसपछि क्रमिकरूपमा खररुची भैया, बाटो बहिनो, दुई मुख भएका चरा, भाग्य चक्र कारण विमुख भएका दाजुबहिनीको मूर्ति बनाइन्छ ।

यसका साथै वृन्दावन जङ्गल, झुठो कुरा लगाउने चुगलखोरका साथै अन्य कलात्मक मूर्ति बनाइन्छ । बनाइएका ती मूर्तिलाई विभिन्न रङमा आकर्षक ढङ्गले रङ्ग्याउने कार्य गरिन्छ । यस पर्वमा सबैभन्दा रोचक भनेको दिदीबहिनीले पर्वको अवधिभर बेलुकीको समयमा दाजुभाइको प्रशंसाका साथै आशिष दिने खालका सामा गीत गाउने गरिन्छ । सोही क्रममा आफूलाई चाहिएका सरसमान पनि गीतको माध्यमबाट सुनाउने प्रचलन रहेको छ । यो अत्यन्त लोकप्रिय गीत हुन्छ । आफ्ना दाजुभाइको नामसहित गाइने गीतमा ठूलो मानिस बन्ने, विकासका कार्य गर्ने, समाजमा राम्रो काम गरेर नाम कमाउने खालका गीत दिदीबहिनी गाउने गर्छन् ।

त्यसपछि, कात्तिक पूर्णिमाको मध्यरात्रिमा महिलाले आ–आफ्ना घरबाट सामा बिदाइका पारम्परिक गीत गाउँदै चौबाटोमा भेला भएर पर्वको अन्तिम रूप दिने गर्छन् । सो अवसरमा सबैभन्दा पहिले भाइले सामा फोडेपछि चुगला र वृन्दावन जलाइन्छ । एक अर्कासँग मूर्ति साटासाट गरेर घर फर्कने क्रममा पुनः गीत गाउँदै आँगनमा पुगेर ‘झुम्मरी’ गीत गाएर पर्वको समापन गरिन्छ । यस पर्वमा प्रसादका रूपमा नयाँ धानका चिउरा, दही, मिठाइका साथै नयाँ धानको बालासमेत राख्ने गरिन्छ ।

Skip This
Skip This
Logo