रोनाल्डोले दुई गोल गरेपनि पोर्चुगल हंगेरीसँग रोकियो

रोनाल्डोले दुई गोल गरेपनि पोर्चुगल हंगेरीसँग रोकियो

केन्द्रबिन्दु
45
Shares

लिस्बन । विश्वकप छनोटअन्तर्गत युरोपेली समूह ‘एफ’ को खेलमा पोर्चुगल र हंगेरीबीचको प्रतिस्पर्धा २-२ गोलको बराबरीमा टुङ्गिएको छ ।

पोर्चुगलका लागि क्रिस्टियानो रोनाल्डोले दुई गोल गर्दै विश्वकप छनोट इतिहासमा सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाए पनि हंगेरीले इन्जुरी टाइममा गोल फर्काउँदै पोर्चुगललाई जितबाट वञ्चित गर्‍यो।

खेलको ८औँ मिनेटमै एटिला जलाईले गोल गर्दै हंगेरीलाई अग्रता दिलाएका थिए। त्यसपछि पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले खेलको २२औँ मिनेटमा बराबरी गोल फर्काए। पहिलो हाफको इन्जुरी टाइममा रोनाल्डोले नै अर्को गोल गर्दै पोर्चुगललाई २-१ को अग्रता दिलाए।

खेल लगभग पोर्चुगलको पक्षमा गइरहेको बेला, दोस्रो हाफको इन्जुरी टाइममा हंगेरीका डोमिनिक सोबोसलाईले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए र महत्त्वपूर्ण १ अंक सुरक्षित गरे।

रोनाल्डोको कीर्तिमानी प्रदर्शनका बाबजुद घरेलु मैदानमा पोर्चुगलले महत्त्वपूर्ण अंक गुमाएको छ। यो बराबरीले गर्दा पोर्चुगलले अब आफ्नो विश्वकप छनोट यात्रा सुनिश्चित गर्न बाँकी खेलहरूको नतिजा कुर्नुपर्ने भएको छ।

Logo