काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ का घटना अहिलेको व्यवस्था र देश सिद्ध्याउने योजनाअनुसार भएकाे टिप्पणी गरेका छन् ।
बुधबार पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिले देखिएका घटनाहरू कुनै आकस्मिक नभई वर्षौँदेखिको योजनाबद्ध प्रयासको परिणाम भएको बताएका हुन् । संसद् र व्यवस्था नै मान्दैनौँ भनेर लामो समयदेखि भन्दै आएका समूहहरूले नै ती घटना गराएको उनको दाबी थियो।
“सिंहदरबार जलाउँछौँ, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र जलाउँछौँ भन्नेहरूले नै त्यो गरे,” उनले भने, “चैत १५ मा पनि उनीहरू त्यसै दिशातिर गएका थिए।”
अध्यक्ष ओलीका अनुसार नेपालको सफलता, संस्कार र गौरव मन नपराउने, बाहिरबाट पालिएका तत्त्वहरूले सार्वजनिक सम्पत्ति, घर र औद्योगिक प्रतिष्ठान जलाउने काम गरे । “प्रहरीका हतियार र बर्दी खोस्ने जस्ता तमासा देखिए,” उनले भने, “यस्ता शक्ति राष्ट्रवादी र देशभक्तिपूर्ण आन्दोलनका विरुद्ध लागेका छन्।”
तानाशाही र अधिनायकवाद फालेर ल्याइएको लोकतन्त्र अहिले अप्ठेरो अवस्थामा पुगेको बताउँदै ओलीले एमालेले त्यसलाई काँधमा बोकेर अघि बढ्नुपर्ने बताए।
भदौ २३ र २४ का घटना अप्रत्याशित नभएको तर त्यस तहसम्म पुग्ने आँकलन नभएकाले तयारीमा कमी भएको उनको भनाइ थियो। “राज्य संयन्त्रले चाहेको भए रोक्न सकिन्थ्यो, तर सकिएन,” अध्यक्ष ओलीले भने।
लोकतन्त्र राज्यले होइन, जनताले ल्याएको भन्दै उनले अब यसको रक्षा पनि जनताबाटै हुनुपर्ने बताए। “संविधान र लोकतन्त्रमा लागेको चोटको मलम जनताले नै लगाउनेछन्,” उनले भने।
असंवैधानिक सरकारले प्रतिनिधि सभा विघटन गरेको उल्लेख गर्दै अध्यक्ष ओलीले सर्वोच्च अदालतले पहिले नै नजिर कायम गरिसकेको कारण अहिलेको विघटन पनि गलत भएको बताए । उनले सुशीला कार्की प्रधानमन्त्री बन्नु र संसद् विघटन दुवै असंवैधानिक रहेको टिप्पणी गरे।
“आजको स्थिति प्रतिगमनको हो,” उनले भने, “चुनाव हुनेवाला छैन, सरकार अवैध र असंवैधानिक छ।”
अध्यक्ष ओलीका अनुसार जेनजी समूहका माग हालका घटनाक्रमसँग जोडिएका छैनन्। “उनीहरूको माग सुशासन र सामाजिक सञ्जाल खोल्नु पर्ने मात्र हो,” उनले स्पष्ट पारे, “त्यसैले अहिले एमालेमाथि ठूलो जिम्मेवारी छ।”
“अब हाम्रो पार्टीमा सुदृढ एकता आवश्यक छ,” उनले भने, “फेसबुकमा कसैले गाली गरेको आधारमा म अध्यक्ष पद छोड्दिनँ, तर केन्द्रीय कमिटीले आदेश दिए एक मिनेट पनि बस्दिनँ।”
अध्यक्ष ओलीले भने, “कमिटीभन्दा बाहिर गएर लोकप्रियतावादको पछि लागेर कोही सदस्य हुँदैन। पार्टी अनुशासन र एकतालाई नै बलियो बनाउँदै अघि बढ्नुपर्छ।”





























प्रतिक्रिया