काठमाडाैं । नेकपा (एमाले)को जारी केन्द्रीय कमिटी बैठकमा बोल्ने केन्द्रीय सदस्यहरुले जेनजी आन्दोलनकारीहरुप्रति अध्यक्ष केपी शर्मा ओलीले बोल्दै आएका विषयहरुमा आलोचना र आपत्ति जनाएका छन् ।
बिहीबार बैठकमा बोल्ने क्रममा केन्द्रीय सदस्य युवराज बास्कोटाले जेनजीलाई अध्यक्ष ओलीले पटक पटक गाली गर्दै आएको विषयप्रति आपत्ति जनाएका हुन्। ओली आफै प्रधानमन्त्री भएका बेला उठेको जेनजी विद्रोहकै कारण ओली सत्ताबाट बाहिरिएका थिए । त्यसपछि उनले जेनजी आन्दोलनलाई प्रतिक्रान्ति, कलर रिभोलुसन लगायतका संज्ञा दिँदै आएका छन्।
बैठकमा बास्कोटाले सुशासन प्रत्याभूतिको अभाव, नियमन र नियन्त्रणबाहिर देखिएको भ्रष्टाचार र अभिव्यक्ति स्वतन्त्रताको कुरा आफ्नै नेतृत्व भएका समयमा किन उठ्यो भन्ने विषय बुझ्नुपर्ने र एमालेले खोज्नुपर्ने उनको भनाइ थियो।
‘यसको राजनीतिक उपचार खोजी गर्नुपर्छ र साझा संकल्प अघि सार्नुपर्छ,’ बास्कोटाले भने।
‘जेनजी कुनै राजनीतिक दल र संगठित संघसंस्था होइन, केही सामयिक विषयवस्तुलाई लिएर उठ्यो, सडकमा उत्रियो । यो एउटा पुस्ताको चाहना हो’, केन्द्रीय सदस्य बास्कोटाले भने, ‘यद्यपि यो नाममा हिंसा भयो, तोडफोड भयो र आगजनी भयो। यसको एउटा पीडित म स्वयं हो। यति हुँदाहुँदै पनि पुस्तालाई गाली होइन, तिनले उठाउँदै आएका सामयिक मुद्दालाई सम्बोधन गर्नुपर्छ । यसलाई भड्काउनु हुँदैन र भड्किन दिनुहुँदैन । यो हाम्रो निर्णायक भोट बैंक पनि हो।’
उनले थपे, ‘पार्टीमा बृहत एकता, खँदिलो एकता र साँच्चिकै एकमना एकता चाहने हो भने पार्टी केन्द्रीय कमिटीको पूर्वउपाध्यक्ष कमरेड विद्यादेवी भण्डारीको पार्टी सदस्यता कायम राख्ने र सम्मानजनक ढंगले पार्टी काममा फर्कन पाउनुपर्ने विषयमा ध्यान दिनुपर्छ । हिजो लिएको निर्णयमा पुनः विचार गरिनुपर्छ ।’
प्रस्तावित मितिमा हुने पार्टीको ११औं महाधिवेशनलाई अलिक पर सारेर भए पनि यस सम्बन्धी सुक्ष्म तयारीमा लाग्नुपर्ने उनले बताए ।
यस्तै बास्कोटाले नेतृत्वको कौशलता उत्तराधिकारी निर्माण गर्नु पनि भएको भन्दै महाधिवेशनको मञ्चमा पुग्दा स्वीकार्य नेतृत्वलाई अघि सारेर अध्यक्ष अभिभावक भएर बस्नु बाञ्छनीय हुनेमा जोड दिए ।





























प्रतिक्रिया