काठमाडौं । नेकपा एमालेकी केन्द्रीय सदस्य मेनुका काफ्लेले २०४८ साल यताका नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्ने माग राखेकी छन् ।
जारी केन्द्रीय कमिटी बैठकमा काफ्लेले पार्टीले अलग्गै आयोग बनाएर नेताहरूको सम्पत्ति सार्वजनिक गर्ने हो भने जेनजी माग पनि सम्बोधन हुने र पार्टीमा समेत शुद्धीकरण हुने बताएकी हुन् । उनले भनिन् ‘मेरो माग छ यसै बैठकबाट त्यस्तो आयोग बनाऔँ, जसले नेताको सम्पत्ति छानबिन गरेर सार्वजनिक गरोस्।’
यस्तै, अर्का केन्द्रीय सदस्य रमेश बडालले विद्यालयलाई शान्ति क्षेत्र बनाउने र विद्यार्थीलाई राजनीतिबाट अलग्गै राख्दा ठुलो राजनीतिक रिक्तता देखिएको भन्दै यस विषयमा पार्टीले सोच्नुपर्ने धारणा व्यक्त गरे । ‘विद्यालयमा राजनीति नगर्ने नाममा भएको रिक्तताको फाइदा अरूले उठाए ।’ उनले भने, ‘त्यसैले विद्यार्थीहरू मूलधारको राजनीतिबाट टाढिए । यसमा पार्टीले पुनर्विचार गर्नुपर्दछ ।’
यस्तै, उनले मङ्सिरमा महाधिवेशन प्रस्ताव गरे पनि मुलुकको राजनीतिक परिस्थितिले चैतभन्दा यता हुनसक्ने सम्भावना आफूले नदेखेको बताए।
केन्द्रीय सदस्य यज्ञबहादुर सुनुवारले पार्टीको आन्तरिक एकता मजबुद बनाउनु अहिलेको आवश्यकता रहेकोमा जोड दिए ।
अर्का केन्द्रीय सदस्य महेश बर्तौलाले संसद् पुनर्स्थापना र राष्ट्रिय सरकार गठनमा जोड दिएका छन् ।
पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार अहिलेसम्म करिव ६७ जना केन्द्रीय सदस्यहरुले आफ्ना धारणा व्यक्त गरेका छन् । बैठकमा करिब १०० जनाले धारणा राख्ने कार्यसूची तय भएको उनले बताए ।





























प्रतिक्रिया