सडक दुर्घटना हुँदा ८ जनाकाे मृत्यु, १८ घाइते

सडक दुर्घटना हुँदा ८ जनाकाे मृत्यु, १८ घाइते

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । बुधबार विभिन्न स्थानमा भएकाे सडक दुर्घटनामा परी ८ जनाले ज्यान गुमाएका छन् । मोटरसाइकलको ठक्करबाट आज वीरेन्द्रनगरमा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर–१ का तीन वर्षीय समीर नेपाली रहेको छ । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्रिभुवन राजपथअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका–७ खानीखोलामा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धुनिबेँसी नगरपालिका–७ का आठ वर्षीय रीतेश तामाङ रहेको इलाका प्रहरी कार्यालय धुनिबेँसीका प्रमुख प्रहरी निरीक्षक रुपा थापाले जानकारी दिए ।

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–१ खोक्लिङको सल्लेरीमा आज दिउँसो भएको ट्रयाक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मिक्वाखोला गाउँपालिका–२ का ट्र्याक्टरका सहचालक २३ वर्षीय दले गुरुङ रहेको प्रहरीले जनाएको छ । सोही गाउँपालिका–२ ओझा गाउँबाट अलैँची लिएर खोक्लिङतर्फ आइरहेको लु ४ त ६५४८ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई सडकबाट तल झरेको र सोही ट्रयाक्टरकै पछाडिको भागले किचेर गुरुङको मृत्यु भएको हो ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको विर्तामोडमा भएको सवारी दुर्घटनामा परी आज दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका–३ का ११ वर्षीय दिप्सन कँडेल रहेका छन् भने अर्का मृतकको परिचय खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरी जिल्लाको बर्दिवासमा आज बिहान तेल बोकेको ट्याङ्करले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुली जिल्ला तीनपाटन गाउँपालिका–१० बस्ने २६ वर्षीय आशालाल परियार छन् ।

गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङ दोर्दी गाउँपालिका–४ सिख्रेभिर नजिकै किसेदी खोलामा बोलेरो जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । सुन्दरबजार नगरपालिकाबाट दोर्दी–५ पाचोक जाँदै गरेको ग१ज ७१२७ नंको जीप मङ्गलबार साँझ दुर्घटना हुँदा पाचोककै ७० वर्षीय सोनी गुरुङको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटमा आज बिहान माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन् । पोखराबाट मानहुँकोट जाँदै गरेको ग१ख २९४२ नंको हायस माइक्रो मानहुँकोट पुग्ने बेला ढलान गरेको सडकबाट तल खस्दा पोखरा महानगरपालिका तल्लो गगनगौडा बस्ने २८ वर्षीया सुनिता गुरुङको मृत्यु भएको हो ।

 

Logo