निर्मल पौडेल पर्वत। कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय पर्वत देशभरिमै उत्कृष्ट भएको छ ।
गृह मन्त्रालयको गत आर्थिक वर्ष विसं २०८१।०८२ को कार्यसम्पादन मूल्याङ्कनमा एक सय पूर्णाङ्कको नतिजामा पर्वत प्रशासनले ९५ दशमलव ७१ अङ्क प्राप्त गरी नेपालमै पहिलो हुन सफल भएको हो । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेका अनुसार आर्थिक वर्ष विसं २०८१।०८२ को पहिलो त्रैमासिकमा २९ दशमलव ०६, दोस्रो त्रैमासिकमा १९ दशमलव २५, तेस्रो त्रैमासिकमा १७ दशमलव ८७ र चौथो त्रैमासिकमा २९ दशमलव ५२ अङ्क प्राप्त गरेको थियो ।
गृह मन्त्रालयसँग भएको कार्यसम्पादन सम्झौतामा तोकिएका मापदण्डहरूमा पूर्ण रूपमा सम्पादन गरिएको मन्त्रालयको नतिजाले पुष्टि गरेको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए। गृह मन्त्रालयले प्रत्येक वर्ष जिल्ला प्रशासन कार्यालयहरूको सेवा प्रवाह, कार्यसम्पादन क्षमता, जनउत्तरदायित्व, प्रशासनिक कार्यशैली ,प्रशासन सुधार एवं सुदृढीकरण लगायतका मापदण्डहरूका आधारमा मूल्याङ्कन गर्दै आएको छ ।
घिमिरेका अनुसार कार्यालयले नागरिकसँगको सेवा प्रवाहमा पारदर्शिता, समयमै सेवा प्रदान गर्ने अभ्यास, दक्ष जनशक्ति परिचालन तथा प्रविधिको प्रयोग,लागुऔषध,लैँगिक हिँसा,सामाजिक अपराध न्यूनिकरण,शान्ति सुरक्षा तथा सुव्यवस्था कायम,विपद् व्यवस्थापन,प्रशासन सुधार एवं सुदृढीकरण लगायत लाई प्राथमिकता दिँदै आएको छ । प्रजिअ घिमिरेले भने, “हामीले नागरिकका गुनासो चाँडो सुन्ने, सेवाग्राहीलाई सहज वातावरणमा सेवा दिने, तथा प्रशासनिक काममा प्रभावकारीता ल्याउनेजस्ता प्रयासहरू गरेका छौँ । ”
घिमिरेले यो उपलब्धि सम्पूर्ण कर्मचारी टोली र स्थानीय सरोकारवालाहरूको सहकार्यको परिणाम भएको भन्दै यस उपलब्धिपछि कार्यालयले अझ प्रभावकारी र जनमुखी सेवा प्रदान गर्ने हौसला मिलेको बताए । कार्यसम्पादन मुल्याङ्कनमा प्रशासन देशकै पहिलो स्थान प्राप्त गर्न सफल हुनु सम्पुर्ण पर्वतवासीको खुशीको कुरा भएको भन्दै घिमिरेले आगामी दिनमा अझै उत्कृष्ट बनाउन आँफू सदैव प्रयासरत रहने समेत प्रतिवद्धता व्यक्त गरे ।
कार्यसम्पादन मूल्याङ्कनमा दोस्रो नम्बरमा भक्तपुर, तेस्रोमा नुवाकोट, चौथोमा मनाङ र पाँचौँमा धनकुटा परेका छन् । छिमेकी जिल्ला बागलुङ २४, म्याग्दी ३२ नम्बरमा परेको छ भने सबैभन्दा कम नतिजा पाँचथर प्रशासनले पाएको छ । पाँचथरको ७३ दशमलव ८२ अङ्क प्राप्त गरेको छ ।





























प्रतिक्रिया