काठमाडौँ। अभिनेता नीर शाहले आफ्नो लागि चलचित्र ‘परान’ विशेष रहेको बताएका छन्। चलचित्र ‘परान’ को श्रव्यदृश्य (ट्रेलर) सार्वजनिक भएसँगै सञ्चारकर्मीसँगको सङ्क्षिप्त कुराकानीमा उनले आफ्नो झण्डै छ दशकको कलाकारिता यात्रामा यो चलचित्र एउटा परीक्षा भएको बताए ।
उनले भने, “मैले चलचित्रमा धर्मनाथको भूमिका निर्वाह गरेको छु । यो पात्रसँग कहीँकतै मेरो मनोविज्ञान जोडिएको छ, सोही कारण यसको कथा सुन्नेबित्तिकै मैले अभिनय गर्न सहमति दिएको हुँ । मेरो चलचित्रकर्ममा यस्ता प्रस्ताव निकै कम आएका छन्, त्यसैले मैले यो भूमिका निर्वाह गरेँ । यसले अहिलेको नेपाली समाजको चित्रण गरेको छ ।”
अभिनेता शाहले चलचित्रमा आफूले पात्रलाई निर्वाह गर्न सतप्रतिशत मेहनत गरेको भन्दै यसको मूल्याङ्कन दर्शकले गर्ने बताए। अभिनेता मदनकृष्ण श्रेष्ठसँगै अन्य सहकर्मी कलाकारसँग चलचित्रमा काम गर्दा केही नयाँ विषयबारे सिक्ने अवसर पाएको धारणा व्यक्त गरे ।
“मेरा लागि यो एउटा पाठशाला झैँ भयो । मेरा सहकर्मी कलाकारसँग धेरै र नयाँ कुरा सिक्न र बुझ्न पाएँ । मैले अभिनय गरेको छ दशक हुँदा आफूले निर्वाह गरेको यो भूमिकाका बारेमा मैले भन्ने धेरै कुरा छैन, दर्शकले चलचित्र भवनसम्म पुगेर मूल्याङ्कन गरिदिनुहुनेछ भन्ने विश्वास छ”, अभिनेता शाहले भने। उनले दर्शकलाई चलचित्र हेरेर मूल्याङ्कलन गरिदिन आग्रह पनि गरे।
अभिनेत्री केकी अधिकारीले चलचित्रले एउटा परिवारमार्फत वर्तमान समाज र देशलाई चित्रण गरेको बताइन्। उनले भनिन् “यो कथा सबैसँग जोडिएको छ । एउटा परिवारमा सबैले राम्रो गर्न खोज्दाखोज्दै पनि आउने घटनाक्रम चलचित्रको विषय हो । यो चलचित्रमा देखाए जस्तो परिवार सबैको चाहना हुन्छ, मैले यसमा माइली बुहारीको भूमिका निर्वाह गरेकी छु ।”
निर्देशक दीपकप्रसाद आचार्य ‘काकु’ ले चलचित्र ‘परान’ को मुख्य कथा आफ्नै परिवारको भए पनि यसले अधिकांश नेपालीको व्यथा देखाउन खोजेको विश्वास व्यक्त गरे ।
“यो कथाको कल्पना मलाई मेरो परिवारबाट आएको हो । तर, चलचित्र हेर्दा सबैले मेरो कथा वा मेरो समाजको कथा भन्नु हुनेछ । मैले एउटा कथाकार वा निर्देशकका रूपमा देखेको पात्रलाई सबै कलाकारले जीवन बनाउनुभएको छ । म पहिलो निर्देशकीय चलचित्रमा पात्रलाई न्याय गर्ने कलाकारसँग काम गर्न पाउँदा निकै उत्साहित छु”, आचार्यले भने ।
परिवार, सम्बन्ध र सङ्घर्षको कथालाई प्रस्तुत गरिएको उक्त चलचित्रमा अभिनेता शाह र अभिनेत्री अधिकारीसँगै मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, प्रविन खतिवडा, यमन श्रेष्ठ, बुद्धि तामाङ, बबिन राईलगायत कलाकारले अभिनय गरेका छन् ।
शेखर गोल्छा र रञ्जित आचार्यले संयुक्त रूपमा निर्माण गरेको उक्त चलचित्रमा शिवराम श्रेष्ठले छायाङ्कन, मित्र डि गुरुङले सम्पादन र गगन थापामगरले सङ्गीत सिर्जना गरेका छन् ।
चलचित्र यही कात्तिक १४ गतेदेखि नेपालभर प्रदर्शन हुने पत्रकार सम्मेलनमार्फत जानकारी गराईएको छ ।





























प्रतिक्रिया