विस्तारित मन्त्रीमण्डलका थप चार मन्त्रीहरुको सपथ हुँदै, खगेन्द्र सुनार विवादमा

विस्तारित मन्त्रीमण्डलका थप चार मन्त्रीहरुको सपथ हुँदै, खगेन्द्र सुनार विवादमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । आन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज थप चार जनालाई मन्त्री नियुक्त गरेकी छन्। उनीहरुले आज दिउँसो साढे २ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ ग्रहण गर्ने तयारी रहेको छ ।

प्रधानमन्त्री कार्कीको गैरदलिय मन्त्रीमण्डलमा थप मन्त्रीहरूको सूची राष्ट्रपति कार्यालयमा समेत पठाइसकेकी छिन् । आइतबार थपिने मन्त्रीहरूमा डा. सुधा शर्मा गौतम, गणपतिलाल श्रेष्ठ, खगेन्द्र सुनार र बब्लु गुप्ता छन् । खगेन्द्र सुनार २०७८ ७९ मा दैलेखबाट नेपाली कांग्रेसको महासमिति सदस्य निर्वाचित भएका व्याक्ति हुन् । ।

गौतमलाई स्वास्थ्य तथा जनसंख्या, सुनारलाई श्रम तथा रोजगार र गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तोकिएको छ । श्रेष्ठलाई भूमिसुधार मन्त्रालयको जिम्मेवारी दिइएको छ । उनलाई यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिने भनिएकोमा अन्तिम समयमा उनको मन्त्रालय परिवर्तन गरिएको हो ।

भूमिसुधार मन्त्री बन्न लागेका श्रेष्ठ लामो समयदेखि काठमाडौं उपत्यकालगायत सांस्कृतिक क्षेत्रको मौलिक सम्पदाको संरक्षण, संवर्द्धन र जगेर्ना अभियानमा क्रियाशील व्यक्ति हुन् ।

उनले रानीपोखरी, वसन्तपुर दरबार क्षेत्रलगायतका सम्पदा संरक्षणमा सह्रानीय भूमिका निर्वाह गरेका छन् । सम्पदा संरक्षण अभियानबारे श्रेष्ठले विश्वचर्चित अक्सफोर्ड युनिभर्सिटीमा गएर समेत प्रस्तुति दिइसकेका छन् ।

स्वास्थ्यमन्त्री बन्न लागेकी गौतम पूर्वस्वास्थ्य सचिव हुन् । उनी स्त्री तथा प्रसूति रोग विशेषज्ञ हुन् । उनले ‘सिंहदरबारको घुम्ने मेच’ र ‘अप्रमेय’ पुस्तक समेत लेखेकी छन् ।

बब्लु गुप्ता परोपकारी संस्था १०० ग्रुपका संस्थापक हुन् । सामाजिक कार्यक्रममा उनले कोभिडकालमा निःशुल्क खाना अभियान चलाएका थिए । कोभिड महामारीअघि बब्लुले विपन्न र आर्थिक अवस्था कमजोर भएका मानिसका लागि कपडा बैंक अभियान चलाएका थिए । ‘हन्ड्रेड ग्रुप’ मार्फत विद्यार्थीहरूलाई पढाइरहेका उनी बिरामीका लागि आवश्यक रगत खोजिदिने सारथिसमेत हुन् ।

सुनार दलित अधिकारको आवाज उठाउने अभियन्ता हुन् । उनले संवैधानिक पद र राजनीतिक नियुक्तिमा दलित प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने माग गर्दै नेल लगाएर काठमाडौंमा प्रदर्शन गरेका थिए । दलित अधिकारको पक्षमा यसअघि पनि पटक–पटक धर्ना, प्रदर्शन र आन्दोलनमा सहभागी भएका उनी २०७७ साल जेठ ११ गते रुकुम पश्चिममा जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या लगत्तै खगेन्द्रले जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमको गेटमा भोकै सुतेर आन्दोलन गरेका थिए ।

उनले यो मुद्दाको सुनुवाइ चलिरहेका बेला जिल्ला अदालत रुकुमपश्चिमको गेटमा १० दिनसम्म धर्ना दिएका थिए । सो घटनामा उच्च अदालत सुर्खेतले व्यक्ति हत्यामा सजाय सुनाएको थियो भने जातीय छुवाछुत नभएको फैसला गरेको थियो । यो फैसलापछि खगेन्द्रले अदालतको ढोका अगाडि न्यायाधीशविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका थिए । त्यही विषयलाई लिएर अधिवक्ता मनिषा गौतमले सुनारविरुद्ध अदालतको अवहेलनाको मुद्दा सर्वोच्च अदालतमा दायर गरेकी थिइन् ।

त्यसपछि खगेन्द्रले अपशब्द प्रयोग गर्दै गौतमविरुद्ध फेसबुकमा स्टाटस लेखेका थिए । उनले अधिवक्ता गौतमविरुद्ध अपशब्द प्रयोग गर्दै लेखेको फेसबुक स्टाटसको स्क्रिनसट पनि अहिले भाइरल भइरहेको छ । गौतमको फोटो र मोबाइल नम्बर फेसबुकमा राख्दै सुनारले लेखेका थिए, ‘यसलाई यो नम्बर ९८६०‘।फोन गरेर सोधौं– त नेपाल बारको होस् कि ठमेल बार को ?’

उनले फेरि अर्को एउटा पोष्टमा ‘कालो कोटको आडमा कालो धन्दावाली– तँलाई तेरै अदालतमा कानुन पढाउने दम छ हामीसँग । तसँग दम छ ? दिउँसै कालोधन्दा गर्ने नेपाल बार र राति धन्दा गर्ने ठमेलको बारमा के फरक छ ?’ सुनारले लेखेका थिए । यहि कारण सुनारको कतिपयले विरोध र प्रधानमन्त्री कार्कीको आलोचना गरेका छन् ।

उनलाई चिन्नेहरूले उनीविरुद्ध सुर्खेत र काभ्रेबाट जारी भएको पक्राउ पुर्जी तथा उनले एक महिला अधिवक्ताविरुद्ध लेखेको फेसबुक स्टाटस सार्वजनिक गर्दै सरकारको आलोचना गरिरहेका छन् । खगेन्द्र दैलेखको नारायण नगरपालिका वडा नम्बर २ भैसेखोर निवासी खगेन्द्र कमान सिंहका छोरा र डिलबहादुरका नाती हुन् । उनी २०७८७९ मा दैलेखबाट नेपाली कांग्रेसको महासमिति सदस्य निर्वाचित भएका थिए ।

उनीविरुद्ध सुर्खेत जिल्ला अदालतमा स्वास्थ्य संस्था तोडफोड तथा स्वास्थ्यकर्मी माथि हातपात सम्बन्धी मुद्दा परेपछि अदालतले २०८१ साल असार २१ गते पक्राउ पुर्जी जारी गरेको थियो । सुर्खेतको मेहेलकुना अस्पतालका कार्यालय प्रमुख डा.सोजन सापकोटाले जाहेरी दिएपछि अदालतले खगेन्द्रलाई सात दिन भित्र पक्राउ गरी उपस्थित गराउन जिल्ला प्रहरी कार्यालय दैलेखलाई पत्र लेखेको थियो । उनीविरुद्ध विद्युतीय कारोबार सम्बन्धी मुद्दामा समेत काभ्रे जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।

यी दुवै मुद्दा फर्स्यौट नभएको र उनी फरार अभियुक्तको रेकर्डमा रहेको प्रहरी स्रोत बताउँछ ।

Skip This
Skip This
Logo