काठमाडौँ
आफ्नो अघिल्लो कार्यकालमा भएका सहमति/सम्झौता कार्यान्वयनमा चीन भ्रमण केन्द्रित हुने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । यस पटकको चीन भ्रमणमा विकासका एजेण्डा प्राथमिकतामा रहने उनको भनाई छ ।
चिनियाँ समकक्षी ली खछ्याङ्गको औपचारिक निमन्त्रणमा प्रधानमन्त्री ओली आज मंगलबार चीन भ्रमणमा जाँदै छन् । भ्रमणका क्रममा उनले चिनियाँ राष्ट्रपति सी जीनपीङ सहित समकक्षी लीसँग छुटाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने कार्यतालिका तय भएको छ । सोमबार आफ्नो भ्रमणबारे संसदलाई जानकारी गराउँदै ओलीले नेपालको विकास निर्माण, आर्थिक सहयोग र व्यापार प्रबद्र्धन लगायतका विषयमा समकक्षी लि खछ्याङ्गसँग छलफल हुने बताए ।
भ्रमणका क्रममा राष्ट्रपति सीसँग भेटवार्ता हुने बताउँदै प्रधानमन्त्री ओलीले भने–‘ शीसँगको भेटवार्ताका क्रममा मैले नेपालका हित र दृष्टिकोण राख्नेछु, नेपाल चीन सम्वन्ध कसरी सुदृढ गर्न सकिन्छ भन्ने कुरा राख्नेछु ।’ चिनियाँ अन्य नेताहरुसँगको भेटमा नेपालको व्यापार घाटा कम गर्ने, वेल्ट एन्ड रोड परियोजना अन्र्तगत पूर्वाधार विकास, रेल, सडक निर्माण र जलविद्युत आयोजना कार्यान्वयनमा सहयोग जुटाउनेबारेमा छलफल हुने उनको भनाई छ ।
प्रधानमन्त्री ओलीले भने–‘मुलुकको बृहत्तर हित, राष्ट्रिय स्वाभिमानलाई केन्द्रमा राखेर नेपालको आवश्यकता र प्राथमिकतालाई ध्यानमा राख्दै द्विपक्षीयबीच सम्झौता र छलफल गरिनेछ ।’ चीनसँगका सम्झौता कार्यान्वयनका लागि दुवै मुलुकका अधिकारी संलग्न रहने गरी परराष्ट्र मन्त्रालय स्तरमा छुट्टै संयन्त्र निर्माण गर्नेबारेमा सरकारले निर्णय गरिसकेको छ ।
प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकाल ०७२ चैतमा भएको चीन भ्रमणका क्रममा १० बुँदे सम्झौता भएको थियो । सो बेला पारवहन, पोखरा विमानस्थल निर्माणमा सहयोग, ग्याँस तथा पेट्रोलियम अन्वेषण र भण्डारण स्थल निर्माण, स्वतन्त्र व्यापार, हिल्सामा पुल निर्माण, ३२ हजार घरधुरीलाई सोलार प्लान्ट जडान लगायतका विषयमा द्धिपक्षिय सम्झौता भएको थियो । चिनियाँ बेल्ट एन्ड रोड इनिसिएटिभ्स् (वीआरआई), कनेक्टीभिटी, हवाई, रेलमार्ग, तातोपानी सहित अन्य नाका खुलाउनेबारेमा द्धिपक्षिय समझदारी हुने प्रधानमन्त्री ओलीले जानकारी दिए ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया