११७औँ देवकोटा जयन्तीको अवसरमा कार्यक्रम सम्पन्न

११७औँ देवकोटा जयन्तीको अवसरमा कार्यक्रम सम्पन्न

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औं जन्मजयन्तीको अवसरमा छहरा साहित्य समाज, धापासीले शनिवार आयोजना गरेको कार्यक्रम सम्पन्न भएको छ ।

ह्वाइट माउन्टेन स्कुल टोखा–६, काठमाडौंमा आयोजित सो कार्यक्रममा लक्ष्मीप्रसाद देवकोटाको साहित्य साधना बारे चर्चा, परिचर्चा, रचना पाठ तथा कविता वाचन गरिएको थियो । साहित्यकार योगेन्द्र तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा वरिष्ठ कवि प्रा. नारायणप्रसाद कट्टेल प्रमुख अतिथि थिए । महाकवि लक्ष्मीप्रसाद देवकोटाको तस्विरमा पुष्पगुच्छा तथा माल्यार्पण गरी कार्यक्रम प्रारम्भ गरिएको थियो ।

कार्यसमितिका सचिव तथा कवि भोला प्रेमीले सञ्चालन गर्नु भएको सो कार्यक्रममा समाजका कोषाध्यक्ष आनन्द पौड्यालले देवकोटाको योगदान बारे चर्चा गर्दै स्वागत मन्तव्य प्रस्तुत गरेका थिए । समाजका उपाध्यक्ष तोया गौतमले लक्ष्मीप्रसाद देवकोटाका कविताका विशेषताहरुको व्याख्या गर्दै उनको कृतित्व बारे चर्चा गरेका थिए । प्रा. गङ्गाधर कट्टेलले लक्ष्मीप्रसाद देवकोटा सगरमाथा जस्तै अतुलनीय उचाइ भएका महाकवि हुन् भन्दै उनी कविता, निबन्ध, काव्य, कथा, उपन्यास सबै विधामा कलम चलाउने स्वच्छन्द धाराका भिन्न काव्य प्रवृत्तिका कवि हुन् भने ।

रघुनाथ आचार्यले लक्ष्मीप्रसाद देवकोटा नभएको भए नेपाली साहित्य अधुरो हुने थियो भन्दै उनको व्यक्तित्व बारे चर्चा गरेका थिए । कवि आनन्द पौड्यालले देवकोटाको जीवनीसँग सम्बन्धित कविता पाठ गरेका थिए । प्रमुख अतिथि प्रा. नारायण प्रसाद कट्टेलले कविशिरोमणि लेखनाथ पौड्यालको काव्य साधना बारे चर्चा गर्दै आफ्नो कविता प्रस्तुत गरेका थिए ।

ओमप्रकाश ओझा तथा तिलकशर्मा पौडेल असल श्रोताको रुपमा उपस्थित थिए । अन्त्यमा समाजका अध्यक्ष योगेन्द्र तिमिल्सिनाले मुना मदन जस्तो लोकप्रिय कृति तथा यात्री जस्तो प्रगतिशील कविता लेख्ने महाकवि लक्ष्मीप्रसाद देवकोटा लोकप्रिय कवि हुन् भने । कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिँदै अध्यक्षले कार्यक्रम समापनको घोषणा गरेका थिए ।

Logo