काठमाडौं । अभियन्ता ‘ईः ईः’ले वर्तमान राजनीतिको जटिलता औंल्याउँदै गृहमन्त्री फेरिएमा प्रधानमन्त्री नै परिवर्तन हुने परिस्थिति विकसित हुनसक्ने गम्भीर चेतावनी दिएका छन्।
उनले एक विश्लेषण सार्वजनिक गर्दै भदौ २४ गतेदेखि सुरु भएका राजनीतिक प्रयासहरूको श्रृङ्खला र शक्ति समीकरणका अस्पष्ट चाहनाहरूमाथि प्रकाश पारेका छन्। उनकाअनुसार, भदौ २४ गते पहिलो प्राथमिकतामा बालेन शाहलाई प्रधानमन्त्री बनाएर ‘गोलमेच’ सम्मेलन बोलाउनु थियो। यद्यपि, शुरुमा तम्सिएपनि परिस्थिति सोचेभन्दा विकराल भएपछि बालेन पछि हटेको उनको भनाइ छ।
दोस्रो प्राथमिकतामा रवि लामिछाने थिए, तर विकसित परिस्थितिहरूले उनको ओज कम गरिदिएको दाबी गरिएको छ।
त्यसपछि भदौ २५ गते कल्याण श्रेष्ठलाई स्थापित गर्ने प्रयास भएको तर संविधानका आधारभूत विषयमा उनको फरक मत स्वीकार्य नभएको विश्लेषणमा उल्लेख छ। यी प्रारम्भिक प्रयासहरू निर्मल निवास, अधिकांश दलका पदाधिकारी र कैयन् शक्तिकेन्द्रहरूलाई समेत जानकारी नहुने गरी सानो वृत्तमा सीमित थिए।
पूर्ण शून्यता र थप अनिष्ट परिस्थिति टार्नका लागि पूर्व प्रधानन्यायाधीश सुशीला कार्की सर्वस्वीकार्य र सर्वविश्वाशिलो पात्र बनेको बताइएको छ । यसमा बालेनसँग राजनीतिक र सैद्धान्तिक अस्पष्टताका कारण टाढिएका र विधिसम्मत ढङ्गले चल्नुपर्छ भन्ने अडान राख्ने ओमप्रकाश अर्यालको ठूलो भूमिका रहेको विश्लेषणमा उल्लेख छ।
अर्याल सल्लाहकार भूमिकामा सीमित रहन खोज्दाखोज्दै पनि प्रधानमन्त्रीले उनैलाई गृहमन्त्री बनाउनुपर्ने अडान लिएको ईः ईः ले बताएका छन्। अर्यालको सट्टामा राजु पाण्डे वा समावेशिताका लागि मीरा चौधरीलाई गृहमन्त्री बनाउन बालेन र उनको आसपासका व्यक्तिहरूले हरसम्भव प्रयास गरेको र अहिलेपनि गरिरहेको समेत उनले खुलाएका छन्।
‘गृहमन्त्री कमीकमजोरी रहित व्यक्ति होइनन्,’ उनले भनेका छन्,’तर सारथी फेरिए भने प्रधानमन्त्री पनि फेरिने परिस्थिति विकशित हुनसक्छ।’
ईः ईः ले भदौ २३ र २४ मा भएका घटनाका अपराधीहरूलाई विधिसम्मत र परिपक्व हिसाबले सजाय दिलाउनुपर्ने माग गरेका छन्। उनले जवाफदेहिता र न्याय ओहदा नहेरी स्थापित हुनुपर्नेमा जोड दिएका छन्। साथै, बेलैमा चुनाव हुनुपर्ने र ‘रगत बगाएर, देश जलाएर गरिने राजनीतिले कसैलाई फाइदा नहुने’ भन्दै सबै पक्षलाई सचेत हुन आग्रह गरेका छन्।





























प्रतिक्रिया