जितको खडेरी तोड्ने नेपालको दाउ

जितको खडेरी तोड्ने नेपालको दाउ

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत आज बिहान सवा ११ बजे दुबईको तातो हावामा नेपाल र यूएइबिच भिडन्त हुँदैछ । यो नेपाली क्रिकेट टोलीका लागि खेल मात्र होइन, आत्मसम्मानको लडाइँ पनि हो । अघिल्लो खेलमा अमेरिकासँग १०६ रनको लज्जास्पद हार बेहोरिसकेको नेपालले यो खेलमा यूएईलाई हराएर ओडिआई स्टाटस जोगाउने प्रयास गर्नेछ ।

ओडिआई इतिहासमा नेपालले यूएईविरुद्ध १५ खेल खेलेको छ । जसमा नेपालले ९ खेल जितेको छ भने यूएईले ६ खेल मात्र जितेको छ । हेड टु हेडमा नेपाल केही अगाडि देखिए पनि, पछिल्लो समय नेपाली क्रिकेट टोलीको फर्मले प्रश्न उठाएको छ के रोहित पौडेलको नेतृत्वमा ‘कार्डियाक किड्स’ ले फेरि आश्चर्यजनक प्रदर्शन गर्न सक्लान् त ? हुनत पछिल्ला ५ ओडिआई खेलको नतिजा हेर्ने हो भने नेपालले खेलेका ५ खेलमध्ये ३ खेलमा जित र २ खेलमा हार व्यहोरेको छ । यस्तोमा पछिल्लो खेलमा हार व्यहोर्नु नेपाली टोलीका लागि निकै नमिठो हार बनेको छ ।

अर्कोतर्फ ओडीआईमा नेपालले यूएईविरुद्ध खेलेका पछिल्लो ५ खेल सबैमा जित हासिल गरेको छ । पछिल्लो १ खेललाई हटाउने हो भने नेपालले यूएईविरुद्ध ४ वटै खेलमा निकै ठुलो मार्जिनका साथ जित हात पारेको थियो ।

नेपाल हाल तालिकामा १७ खेल खेल्दै १० खेलमा हार र ५ खेलमा जितसहित १२ अंकका साथ ७औं स्थानमा रहेको छ भने यूएई पनि १७ खेल खेल्दै १४ खेलमा हार र ३ खेलमा जित निकाल्दै ६ अंकका साथ समूहको पुछारमा रहेको छ । सोही कारण आजको खेल जितेको खण्डमा नेपाल अंक तालिकामा २ अंक जोड्नुका साथै सन् २०२७ मा आयोजना हुने ओडिआई विश्वकप क्वालीफायरतर्फको बाटो सहज बनाउनेछ ।

पछिल्लो समय नेपाली क्रिकेट ओडिआईमा ‘फ्ल्याट ट्र्याक’ मा फसेजस्तो भएको छ । अघिल्लो आइतबार दुबई इन्टरनेशनल स्टेडियममा अमेरिकाविरुद्ध भएको खेलमा नेपालले २६३ रनको लक्ष्य पछ्याउँदा १५७ रनमै समेटियो । अमेरिकाले ६ विकेटको क्षतिमा २६२ रनेको मजबुत स्कोर बनाउँदा नेपालको ब्याटिङ लाइनअप ध्वस्त भयो ।

ओपनर कुशल भुर्तेल शून्यमै आउट हुँदा दीपेन्द्रसिंहले सर्वाधिक ४० रन जोडे । साथै अर्का ओपनर आशिफ शेख ३७ रनमा समेटिँदा अन्य अन्य खेलाडीको प्रदर्शन सम्झनलायक रहेन । बलिङमा संदीप लामिछानेले २ विकेट लिएपनि, टिमको फिल्डिङ र रन चेज कमजोर बन्दा नेपाल १०६ रनको निमिठो हार व्यहोर्न बाध्य बन्यो ।

अर्कोतर्फ यूएई पनि ओडिआईमा संघर्षरत छ । अमेरिकाविरुद्ध मंगलबार सम्पन्न भएको खेलमा ४ विकेटको हार व्यहोर्यो । जसले उनीहरुलाई अंक तालिकामा झट्का दिएको छ । यसरी हेर्दा यूएईको ओडिआई स्टाटस पनि जोखिममा देखिएको छ ।

आजको खेलमा नेपालका लागि कप्तान रोहित पौडेलको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । उनले ओडिआई क्रिकेटमा मात्रै १८ सय रन र १० विकेट लिइसकेका छन् । त्यस्तै भुर्तेल पनि आजको खेलमा चल्न आवश्यक छ । उनले ओडिआई क्रिकेटमा नेपालका लागि १३९८ रन र १७ विकेट लिई सकेका छन् । अलराउण्डर प्रदर्शनीमा निकै राम्रो खेल्दै आएका कुशलले आजको खेलमा पनि सोही प्रदर्शन दोहोर्याउने आशा गरिएको छ । त्यसैगरी सन्दीप लामिछाने, गुलशन झा र दीपेन्द्र सिंह ऐरीलाई पनि आजको खेलमा निकै महत्वपूर्ण खेलाडीका रुपमा हेरिएको छ ।

अर्कोतर्फ यूएईका ब्याटिङको आधारस्तम्भका रुपमा हेरिएको अलिशान शराफु, स्पिनर हैदर अली, कप्तान राहुल चोपडा, मुहम्मद वसीम र युवा पेसर जुनैद सिद्दिकलाई नेपालको खतराका रुपमा हेरिएको छ ।

नेपालले आज युएईसँग खेलेपछि शनिबार अमेरिका र सोमबार युएईसँग खेलेपछि यो वर्षको सबै लिग–२ का खेल सक्नेछ । अब नेपालले सन् २०२६ मा भने चार सिरिजका १६ खेल खेल्ने कार्यक्रम रहेको छ । आइसिसी विश्वकप लिग–२ अन्तर्गत २०२४ देखि २०२६ सम्म अस्थायी एकदिवसीय मान्यता प्राप्त आठ एसोसिएट टिमबीच २४ वटा त्रिकोणात्मक एकदिवसीय सिरिज हुने तय छ ।

Logo