काठमाडौं
चालू आर्थिक वर्षको वैशाख सम्ममा १० अर्ब रुपैयाँको बिजुली चोरी भएको छ । यस हिसाबले एक महिना अवधिमा एक अर्ब रुपैयाँको बिजुली चोरी हुने गरेको नेपाल विद्युत प्राधिकरणले तथ्यांकले देखाएको छ । चालू आर्थिक वर्षको १० महिनामै एक अर्ब एक करोड युनिट बिजुली चोरी भएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बुधबार बताए ।
प्रतियुनिट १० रुपैयाँ दुई पैसा प्राधिकरणलाई घाटा हुँदै आएको जानकारी पनि उनले दिए । ‘बिजुली चुहावटले राजस्वमा नोक्सानी पुग्दै आएको छ,’ उनले भने, ‘हामी प्राधिकरणको उत्पादन, प्रसारण र वितरण प्रणालीमा भइरहेको यस्तो चुहावट नियन्त्रण गर्ने अभियानमा छौं ।’
गत असार सम्ममा प्राधिकरणको प्रणालीमा २२=९ प्रतिशत विद्युत चुहावट हुने गरेको थियो । तर चालू आर्थिक वर्षको वैशाखसम्म त्यसलाई प्राधिकरणले घटाएर २० प्रतिशतमा झारेको छ । तीन वर्ष भित्रमा प्रणालीमा रहेको चुहावट १५ प्रतिशतमा झार्ने लक्ष्य प्राधिकरणको छ । यसैबीच बिजुली चोरी नियन्त्रण गर्न गृह मन्त्रालयले सघाउने भएको छ । बुधबार गृह मन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र ऊर्जामन्त्री वर्षमान पुन बीच भएको बैठकमा विद्युत चोरी नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गरिने समझदारी भएको हो ।
विद्युत चोरी नियन्त्रणका लागि प्रत्येक जिल्लाको जिल्ला प्रशासन कार्यालय र विद्युत प्राधिकरण शाखा कार्यालय बीच संयुक्त कार्ययोजना बनाइ अभियान सञ्चालन गर्ने निर्णय भएको छ । बैठकमा विद्युत निर्माण आयोजना स्थलमा सुरक्षाको प्रत्याभूति गर्न थप सुरक्षा आवश्यक भएमा गृह मन्त्रालय मार्फत सक्रियतापूर्वक कार्य गर्ने निर्णय गरेको छ ।
यस्तै सडक निर्माणका सन्दर्भमा विद्युतका पोल समस्याका रुपमा रहेकाले अन्तर निकाय समन्वय गरी अत्यावश्यक स्थानमा तत्काल बिजुलीका पोल सार्ने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गत सञ्चालनमा रहेका आयोजनाको निर्माण कार्यमा लापर्बाही भई समयमा नै गुणस्तरीय काम नभए ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गत अनुरोध भई आएमा गृह मन्त्रालयबाट कानून बमोजिम कारबाही गर्ने निर्णय समेत भएको छ ।































प्रतिक्रिया